नेपालीहरुलाई फिर्ता पठाउन भारत सरकारलाई नेजस भारतको आग्रह, सकारात्मक जवाफ आएको भनाई
नयाँ दिल्ली, 2 मे 2020
नेपाली जनसम्पर्क समिति भारतले भारतमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश पठाउने पहल गरिदिन भारत सरकारको गृह मन्त्रालय र विदेश मन्त्रालयलाई अनुरोध गरेको छ। नेजस भारतले नेपालीहरुले अहिले भारतमा झेल्नु परेको समस्या पत्रमा उल्लेख गर्दै उनिहरुलाई बिना रोकटोक कम्तिमा सीमासम्म पुग्न दिनुपर्ने माग गरेको छ।
पत्रमा बुँदागत रुपमा भारतमा रहेका नेपालीहरुका समस्या उल्लेख गरिएको छ।
- भारतमा रहेका धेरैजसो नेपालीहरु दैनिक ज्यालादारीमा काम गर्ने भएकाले उनिहरुले अहिले आम्दानी गर्न नसकेकाले खानाको समस्या भएको छ ।
- रोजगारदाताहरुले पहिला-पहिला केही सहयोग गरेपनि अहिले सहयोग गर्न नसक्ने र आफ्नो स्थान पनि छोड्न भनेका छन ।
- अहिले घरभाडा तीर्न नसक्ने अवस्था रहेकाले घरधनिले दुर्व्यवहार गरिरहेका छन ।
- परिवारको भरणपोषणमा समस्या भएको छ । कतिपय गर्भवति महिलाले पोषणयुक्त खाना नपाउँदा गर्भ तुहिने गरेका छन ।
- विभिन्न कलेज, विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीहरुलाई संस्थानहरुले नेपाल फर्किन भनिसकेका बेला लकडाउनले उनिहरु जान सकेका छैनन् ।
- त्यसैगरि स्वास्थ्य उपचार र तीर्थयात्रामा आएका नेपालीहरुसँग अहिले पैसा सकिएकाले उनिहरुलाई ठूलो समस्या भएको छ ।
- र भारतमा विभिन्न कारणले रहेका नेपालीहरु पनि जारी परिस्थितिमा नेपाल फर्किन चाहन्छन ।
विश्वका अन्य देशले भारतबाट आफ्ना नागरिकहरूको उद्धार गरिसकेका छन्। भारत सरकारले आफ्ना सबै मजदुर तथा विद्यार्थीहरूलाई उनिहरूको राज्यमा पठाउने निर्णय गरेर कार्यन्वयन गर्दै आएको छ। तर यस्तो अवस्थामा नेपाल सरकार भने नेपालीहरूको पीडाको मुकदर्शक मात्र बन्नु विडम्बना हो। भारतमा लकडाउन सुरु भएदेखि नै नेपालीहरूले रोजगारी गुमाउँदा उनिहरूलाई खाना र बस्ने बासको समेत समस्या देखा परेको छ। अब पनि भारतबाट नेपालीहरूको उद्धार गरिएन भने नेपालीहरूले भारतमा भोकमरीका कारण ज्यान गुमाउने अवस्था सिर्जना हुने निश्चित छ। तसर्थ यथाशिघ्र उनिहरूलाई नेपाल फर्कने वातावरण बनाउनको लागि नेपाल सरकारद्वारा दिल्ली दूतावासलाई निर्देशन दिइनु पर्ने माग नेजस भारतले गरेको छ।
अर्कोतर्फ नेशनल लाईभसँग कुरा गर्दै नेजस भारतका अध्यक्ष एवं नेपाली काँग्रेसका आमन्त्रीत सदस्य बालकृष्ण पाण्डेले भन्नुभयो ” विदेशी भूमिमा भोकै मर्ने अवस्थामा पुगेका लाखौं नेपाली नागरिकहरुलाई अरु केही गर्न नसके पनि आफ्नो घरसम्म जान अनुमति दिन भारत सरकारलाई अनुरोध गरेका हौं । नेपाली जनसम्पर्क समिति भारतले भारतमा रहेका नेपालीहरुको सहयोगको लागि र नेपाल सरकारले प्रवासी नेपालीहरुलाई केही नगरेको अवस्थामा भारत सरकारको गृह मन्त्रालय र विदेश मन्त्रालयलाई अनुरोध गरेका थियौ । भारत सरकारको गृह मन्त्रालयबाट बिदेश मन्त्रालयमा सहयोग गर्ने जिम्मा दिई सकेको छ र विदेश मन्त्रालयले नेपाल दूतावास र नेपाल सरकारको सहमती दिएमा सबै अलपत्र नेपाली नेपाल फिर्ता जान अनुमती दिन तयार रहेको छ। हामी दूतावास मर्फत सम्पर्क गर्दा नेपाल सरकारले अनुमति नदिएको पाइएकोले नेपाल सरकारलाई पटक पटक अनुरोध गर्दा पनि अनुमती दिएको छैन । “