अब गुजरातमा पनि नेपाली किशोरद्वारा आत्महत्या, किन बढ्दैछ भारतमा आत्महत्या

गुजरात, 28 अगस्त 2020
भारतमा पछिल्लो समयपछि एकपछि अर्को गर्दै नेपालीहरुको आत्महत्या गर्ने क्रम बढ्दो छ । चेन्नईमा एक हप्तामा 3 जनाले आत्महत्या गरेको समाचार आइरहेको बेला गुजरातको सिलवासा मसाडमा पनि एक नेपाली किशोरले आत्महत्या गरेका छन । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नम्बर-4 छ्याङ-छ्याङ्दी गाँउका स्थायी वासिन्दा दिपक सुनारका 18 वर्षका छोरा विवेक सुनारले गुजरातको सिलवासा मसाडमा आत्महत्या गरेका छन । बुधवार घरमा कोही पनि नभएका बेला उनले पासो लगाएर आत्महत्या गरेको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष वेद बहादुर कार्कीले बताउनु भएको छ । कार्कीका अनुसार आत्महत्याको कारण अहिले खुलेको छैन ।
विवेक कक्षा 10 परीक्षा दिएर आमासँगै काम गरिरहेका थिए । तर बुधवारका दिन उनले काममा जान मन नभएको भन्दै घर बसेका थिए । आमा काममा गइसकेपछि स्थानीय युवाहरुको साथमा रक्सी सेवन गरि घर फर्किएका विवेकले बहिनीलाई सुत्छु भनेका थिए । बहिनी नजिकैको छिमेकीको घरमा पढन गएका बेला 3 बजेको समयमा आत्महत्या गरेको खुल्न आएको छ । मृतककी बहिनीले उनलाई घरबाट जानु अघि कसैसँग फोनमा कुरा गरेको पनि देखेकी थिइन ।
मूल प्रवाहले आत्महत्या अघि कसैसँग फोनमा कुरा भएको र रक्सी सेवन गरेका साथीहरुलाई पनि केही थाहा भएको हुन सक्ने भन्दै गम्भीरतापूर्वक जाँच गर्न पुलिसलाई आग्रह गरेको बताएको छ । साथै पछिल्लो समय बढेको आत्महत्याका घटनाबारे दुःख व्यक्त गरेको छ ।