Trending News

कोभिडले ठप्प रहेको ठमेल बजारमा चहल-पहल बढ्दै

0 Shares

काठमाण्डौ, 25 नोवेम्बर 2020

कोभिडका कारण ठप्प रहेको ठमेलमा विस्तारै चहलपहल बढ्दै गएको छ। बाह्य पर्यटक छिटफुट मात्रै देखिएपनि स्वदेशी उपभोक्ताको कारण चलहपहल बढ्दै गएको देखिन्छ। ठमेल क्षेत्रमा व्यवसाय गर्दै आएका व्यापारीहरुले पनि चहलपहल विस्तारै बढ्दै गएको बताएका छन। कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि गत वर्षको चैत महिना देखि लकडाउन भएपछि पर्यटकिय बजार ठमेल पनि प्रभावित भयो। विमानस्थल बन्द भएपछि पर्यटकहरुको आवागमन रोकियो। सरकारले लकडाउन खुकुलो बनाउँदै गएपछि पनि लामो समय विमानस्थल सञ्चालन नहुँदा पर्यटकहरु नेपाल आउन सकेनन। त्यसैले पनि ठमेलमा पर्यटकहरु देखिएनन। पछिल्लो समय पर्यटन क्षेत्रलाई सूचारु गरिएपनि सरकारी मापदण्डका कारण पर्यटकहरु आउन सकेका छैनन। त्यसैले पनि ठमेल क्षेत्र पर्यटक विहिन बनेको छ। तर केही दिन यता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन। त्यस्तै होटल क्षेत्रमा पर्यटकहरुले बुकिङका लागि सोधपुछ गरिरहेको होटल व्यवासयीहरुले बताएका छन।

पर्यटन व्यवसायीहरुले भने कोभिड रोकथाममा पर्यटकका लागि तयार पारिएको मापदण्डका कारण पर्यटकहरु आउन नसकेको बताएका छन् । सरकारले नेपालमा अएपछि क्वारेन्टाइन नबसिकन पीसीआर परीक्षण गरी घुम्न जाने व्यवस्था गर्ने हो भने पर्यटकहरु आउन सक्ने पर्यटन व्यवसायीको भनाई छ ।

विदेशी पर्यटकका लागि ठमेल पहिलो गन्तव्य हो । त्यसैले ठमेलमा पर्यटकलाई लक्षित गरी सञ्चालनमा आएका व्यवसाय धेरै छन् । पर्यटक नै नभएपछि ती व्यवसायहरु समस्यामा परेको व्यापारीहरुले बताएका छन् । कतिपय व्यवसाय बन्द भइसकेका छन् । त्यसैले ठमेलको चहलपहललाई बढाउन पनि पर्यटकलाई नेपाल आउन सहज हुने खालको नीति सरकारले अवलम्बन गर्नुपर्ने देखिन्छ ।