Trending News

सरकार र ‘विप्लव’ नेतृत्वको समूहबिच 3 बुँदे सहमति, सरकारले विप्लव समूहका कैदीबन्दी रिहा गर्ने

0 Shares

काठमाण्डौ, 4 मार्च 2021

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबिच 3 बुँदे सहमति भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासँगको वार्ता सफल भएको बताउनु भएको छ । बुधबार र बिहीबार भएको वार्तापछि गृहमन्त्री थापाले वार्ता सफल भई सकारात्मक परिणाम आउन सफल भएको प्रतिक्रिया दिनुभयो । विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएपछि उनले सरकारले गर्ने कार्य तदारुकताका साथ सम्पन्न गर्ने बताउनुभयो । सरकारी वार्ता टोलीका संयोजकसमेत रहेका थापाले विल्पव नेतृत्वको नेकपाबाट पनि आफुहरुले सकारात्मक अपेक्षा गरेको बताउनुभयो । सरकार र विप्लव समूहबीच आज भएको तीनबुँदे सहमतिमा विप्लव समूहका सम्पूर्ण बन्दी रिहा गर्ने र मुद्दा खारेजीलगायका विषय अघि बढाउने उल्लेख छ । सो समूहका १३४ जना नेता–कार्यकर्ता जेलमा छन् । यही फागुन ९ गतेसम्म सो समूहका दुई हजार ८६ जना पक्राउ परेका छन् । जसमध्ये एक हजार ८४४ जना मुद्दा दर्तापछि छुटेका छन् भने १३४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार १८ जनाको मुद्दा अनुसन्धानको क्रममा छ । सरकारले ०७५ फागुन २८ गते सो समूहमाथि प्रतिबन्धको घोषणा गरेको थियो ।

सरकारले मंगलबार गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई थिए भने विप्लव नेतृत्वको नेकपाका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्मा र दीपक चलाउने रहेका थिए ।