Trending News

उपप्रधानमन्त्री पोखरेल भन्छन् – निजामती प्रशासन, समयको गतिसँगै परिवर्तन हुन सकेन

0 Shares

काठमाण्डौ, 7 अप्रिल 2021

उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन झिङ्गे टसाई सोचबाट मुक्त हुन नसकेको टिप्पणी गर्नुभएको छ । बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरुबीच निजामती सेवाका विभिद पक्ष सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निजामती प्रशासनमा झिङ्गे टसाई सोच प्रमुख समस्याको रुपमा रहेको बताउनुभएको हो । समयको गतिसँगै निजामती प्रशासन परिवर्तन हुन नसकेको पनि उहाँले बताउनुभयो । त्यसैले निजामती प्रशसनले परिणामलाई भन्दापनि प्रक्रियालाई जोड दिने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो अहिले निजामती प्रशासन भित्र रहेको प्रमुख समस्या हो सोचमा सकारात्मक परिवर्तनको अभाव, निजामती प्रशासन अझैसम्म झिङ्गे टसाई सोचबाट मुक्त हुन सकेको छैन । यसलाई विरासतमा पाएको भन्ने गरिएतापति समयको गतिसँग प्रशासन परिवर्तन हुन नसकेको रुपमा यसलाई बुझ्नु पर्दछ भन्ने म यहाँहरुसमक्ष राख्न चाहन्छु । त्यसैले होला निजामती प्रशासनले परिणामलाई भन्दापनि प्रक्रियालाई जोड दिने गरेको छ ।

कर्मचारीतन्त्र आफैमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न नसकेको पनि उपप्रधानमन्त्री पोखरेलले बताउनुभयो । ढिलासुस्ती, भ्रष्ट्राचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने लगायतका प्रवृतिका कारण पनि कर्मचारीतन्त्रमाथि प्रश्न उठने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो कर्मचारीतन्त्र आफैमा सक्षम हुँदाहँुदै पनि जनताको विश्वास राम्ररी जित्न सकिरहेको छैन । यसका पछाडि केही यस्ता कारणहरु छन जसले कर्मचारीतन्त्रको गरिमालाई कमजोर र जिर्ण बनाउँदै लगेका छन भनेर भन्न सकिन्छ । ढिलासुस्ती, भ्रष्ट्राचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने र राम्रो उद्देश्यका लागि पनि जोखिम बोक्न नचाहने प्रवृतिजन्य संस्कारका ऐजरुहरु कर्मचारी तन्त्रमा पलाउँदै गएका छन् भनेर आम टिप्पणी हुने गरेको छ । यसले नागरिक र कर्मचारीतन्त्रको बीचमा दुरी बढाउँदै लगेको छ ।

म्याक्स वेबरको वेबेरियन मोडलको कर्मचारी तन्त्रका सकारात्मक पक्षलाई ग्रहण गर्दागर्दै पनि कर्मचारी तन्त्रका नकारात्मक पक्षलाई हटाउन नसकिएको पनि उपप्रधानमन्त्री पोखरेलले बताउनुभयो । कर्मचारीतन्त्र निष्पृय, असंवेदशिल र जडसमूह नभएकोले कर्मचारी तन्त्रले आफूलाई संवेदनशिल, गतिशिल मानवहरुको विवेकशिल समूहको रुपमा स्थापित गर्न सक्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो कर्मचारीतन्त्र निष्पृय, असंवेदनशिल र जड समूह होइन र हुन सक्दैन । यो एउटा संवेदनशिल र गतिशिल मानवहरुको विवेकशिल समूह हो । यस हिसाबले आफूलाई यसले अगाडी बढाउनुपर्छ । त्यसैले कर्मचारी तन्त्रले आफ्नो उत्तरदायित्व बुझ्नुपर्ने हुन्छ र जवाफदेहिता सम्झनुपर्ने हुन्छ ।

शासन प्रणालीलाई सुदृढ र सबल बनाउने मुल जिम्मेवारी निजामती प्रशासनको काँधमा भएकाले यसलाई सक्षम र नागरिक मैत्री कार्यशैलीबाट लोकपृय बनाउन आवश्यक रहेको पनि उपप्रधानमन्त्री पोखरेलले बताउनुभयो । कार्यक्रममा मुख्य सचिव शंकरदास बैरागीले कर्मचारीको व्यवहार, कार्यशैली, आचरण र जीवनशैलिद्धारा निजामती सेवा प्रतिको धारणा सकारात्मक बनाउन सकिने बताउनुभयो । कर्मचारी प्रतिको नकारात्मक दृष्टिकोण बदल्नु निजामती प्राशासनको मुख्य चुनौति भएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो निजामती सेवाप्रति आम धारणा त्यति सकारात्मक छैन । यसलाई सकारात्मक बनाउने काम हाम्रो हो । निजामती सेवालाई राम्रो बनाउने दायित्व पनि हाम्रै हो । हामीले आफ्नो व्यवहार, कार्यशैली, आचरण र जीवनशैलीद्धारा निजामती सेवाप्रतिको धारणा सकारात्मक बनाउने हो । अनुशासित, मार्यादित रुपमा कर्तव्यनिष्ठ भई निष्पक्ष र पारदर्शि ढङ्गले विना ढिलासुस्ती काम सम्पादन गर्न सके यो उद्देश्य प्राप्त गर्न सकिन्छ भन्ने मेरो विश्वास छ । कर्मचारीतन्त्र प्रतिको नकारात्मक दृष्टिकोण हामीले बदल्नै पर्छ । यो हाम्रो साझा चुनौति हो । हामी त्यसमा लाग्नै पर्छ । निजामती सेवा भ्रष्ट्राचारबाट टाढा रहनुपर्छ, हामी सबैले भन्दै आएको मान्यता हो । यो सेवालाई भ्रष्ट्राचारमुक्त बनाउने दायित्व पनि हाम्रै हो ।

निजामती सेवालाई सबल र सक्षम बनाउन सेवा भित्रका कर्मचारीहरुको क्षमता विकास गर्ने र कर्मचारीको मनबोल बढाउने कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभयो । ज्ञान र सीपमा लगानी नगरी प्रतिस्पर्धामा उत्रन नसक्ने पनि मुख्यसचिव बैरागीले बताउनुभयो ।

उहाँले भन्नुभयो निजामती सेवालाई सबल र सक्षम बनाउन सेवा भित्रका कर्मचारीहरुको क्षमता विकास हुनुपर्छ, तीनको मनोबल उच्च बनाउनुपर्छ, तीनलाई सँधै उत्प्रेरित बनाउनुपर्छ भन्ने मान्यता हामीले राख्दै आएका छौं, भन्दै आएका छौं तर गर्ने कसरी ? ज्ञान र सीपमा लगानी नगरी हामी प्रतिस्पर्धामा खरो उत्रन पटक्कै सक्दैनौं । अब यो सोच हामीले त्याग्नुपर्छ । परम्परागत शैलीबाट हामी अगाडिी बढ्नै सक्दैनौं ।

निजामती सेवा सरकारको सोच र दृष्टिकोणलाई कार्यान्वयनमा उतार्ने औजार भएको मुख्य सचिव शंकरदास बैरागीले बताउनुभयो । देशको विकासका लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने, निजी, सामुदायिक र अन्य क्षेत्रसँग समन्वय गर्न निजामती सेवा तयार रहनुपर्ने पनि उहाँले बताउनुभयो ।