Trending News

भलिबलमा पुरुषतर्फ चौंथो जित

0 Shares

काठमाडौं, 5 मई 2022

हेल्प नेपालले छैटौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगितामा पुरुषतर्फ चौंथो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बिहीबार नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराएर हेल्पले चौंथो जित निकालेको हो । हेल्पले पुलिसमाथि २५–२३,२५–२३ र २५–२३ को सेटमा जित निकालेको हो । पुलिसको यो पहिलो हार हो  । यस्तै पुरुषतर्फ बुधबार नै भएको खेलमा गल्कोट स्पोर्ट्स क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–२ को सेटमा हरायो । त्यस्तै महिलातर्फ नेपाल पुलिस क्लबले लगातार तेस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बिहीबार न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३–० को सेटमा हराउँदै पुलिसले तेश्रो जित निकालेको हो । पुलिसले न्यु डायमण्डमाथि २५–११,२५–१७ र २५–१५ को सेटमा जित निकाल्यो । जितसँगै पुलिसले ३ खेलमा ९ अंक जोडेको छ । पुलिस शीर्ष स्थानमा रहेको छ । न्यु डायमण्डको यो लगातार तेस्रो हार हो । महिलाकै पहिलो खेलमा एपीएफले एभरेस्ट भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्यो । एपीएफले एभरेस्टमाथि २५–१३,२५–१०,१९–२५ र २५–१९  को सेटमा जित निकालेको हो । लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब रहेको छ । महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट मावि रहेको छ । विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौंथोले ७५ हजार प्राप्त गर्ने छन् ।