Trending News

उपमेयर सुनिता डंगोलको श्वेतपत्र : १०० दिनमा १५ काम

0 Shares

काठमाडौं, 7 सितंबर 2022

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेको एक सय दिनमा गरेका काम र थालेका योजनाको श्वेतपत्र सार्वजनिक गरेकी छिन् । डंगोलले सार्वजनिक गरेको श्वेतपत्रमा एक सय दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजनाको उल्लेख छ । पुराना २ सय ४४ वटा विवादमा न्यायिक सुनुवाई भएको र  ५१ वटा विवादको किनारा लगाएको सार्वजनिक गरेको श्वेतपत्रमा उल्लेख छ । वडास्तरीय महिला सेल गठन, आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयारलाई पनि उनले उल्लेख गरेकी छिन् । सयको काममा उनले सय दिनमा सय बढी कार्यक्रममा महानगरवासी सँगसँगै रहेको र महानगरवासीसँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव लिने, समस्या बुझ्ने कार्य गरिएको उल्लेख गर्दै त्यसले काठमाडौँबासीसँगै रहेर महानगरका समस्याका बारेमा साक्षात्कार हुने अवसर प्राप्त भएको बताएकी छिन्। उनले फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल सुरु गरेको श्वेतपत्रमा उल्लेख छ ।

‘महानगर प्रमुखसहित मेरो प्रत्यक्ष उपस्थितिमा नुवाकोट जिल्लाको सिसडोल र नुवाकोटकै बञ्चरे डाँडा, टेकुस्थित ‘ट्रान्सफर स्टेसन’ लगायतका क्षेत्रको अनुगमन गर्ने र त्यहाँको बस्तुस्थिति बुझ्ने लगायतका काम भएका छन्,’ उनले भनिन्,’ ‘पटक-पटकको प्रयासपछि  सिसडोल र बञ्चरेडाँडामा अल्पकालिन फोहोर व्यवस्थापन गर्ने कार्य भएको छ ।’

दीर्घकालिन फोहोर व्यवस्थापनका लागि छिमेकी नगर मध्यपुर थिमीलगायतका पालिकाले गरेका योजनाको अवलोकन गर्ने र उनीहरुका समेत अनुभवलाई ग्रहण गर्दै दीर्घकालिन फाहोर व्यवस्थापनका लागि आवश्यक कार्यहरु अघि बढाएको उनले बताए ।

डंगोलले ‘मैले गरेको, मेरा कारणले भएको र म भएकाले मात्रै भएको हो’ भन्ने आत्मकेन्दि्रत चिन्तनबाट प्रेरित भई आत्मपरक हुने कुरामा म पटक्कै विश्वास नगर्ने भन्दै काठमाडौँ महानगरपालिकाको विकास र समृद्धि सबैको साझा सपना हुनुपर्नेमा जोड दिकी छिन् ।

‘यहाँको विकास र समृद्धिमा राजनीतिक लेप लगाएर एक-अर्काप्रति दोषारोपण गर्ने कुरा किमार्थ उचित होइन र हुँदैन पनि । त्यसैले यहाँको विकास र समृद्धिमा सबैको हातेमालो आवश्यक हुन्छ,’ उनले भनेकी छिन्,’ ‘हामीले १ सय दिनमा के गर्यौं भनेर फेहरिस्त सार्वजनिक गर्नु भन्दा पनि हामीले जिम्मेवारी सम्हालेपछि काठमाडौँ महानगरवासीले के-कति फरक अनुभूति गरे त्यो महत्वपूर्ण हो ।’

उनले आफू नेकपा (एमाले)को तर्फबाट उम्मेदवार बनेर उपप्रमुख पदमा निर्वाचित भए पनि साझा जनप्रतिनिधिको हैसियतमा काम गर्ने प्रण गरेकी छिन् ।

‘निर्वाचित भएपछि म काठमाडौँ महानगरवासी सबैको साझा जनप्रतिनिधिको हैसियतमा काम गरिरहेको छु र निरन्तर गरिरहने प्रण गर्दछु,’ उनले भनेकी छिन्, ‘म समावेशी लोकतन्त्रमा विश्वास गर्ने भएकाले आत्मगत भन्दा पनि सहकार्य, सहमति र सह अस्तित्वको भावनलाई आत्मबोध गर्दै अघि बढ्नुपर्छ भन्ने ठान्दछु ।’

१ सय दिनमा सकारात्मक कामको थालनी गरी काठमाडौँ महानगरवासीमा आशाको बत्ती बाल्ने प्रयास गरेको उनको भनाइ छ । ‘यो म एक्लैबाट सम्भव भएको भने अवश्य होइन,’ उनले भनेकी छिन् ।

उनले जस-अपजसका सबै जिम्मेवारी सामूहिक रुपमा लिनुपर्नेमा पनि जोड दिएकी छिन् ।

मेलमिलापकर्ता छनौट प्रक्रिया, मानव बेचबिखन ओसारपसार नियन्त्रणको प्रयास, शिक्षा क्षेत्रमा गरेका सुधारका प्रयास, इन्द्रजात्रालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्न गरेका पहल, नेपालभाषाको डिजिटल शब्दकोष निर्माण कार्य, सम्पदा संरक्षण, पुनर्निर्माण र अनुगमन कार्यलाई प्राथमिकता जस्ता कुरालाई पनि १ सय दिनमा गरेका कामको विवरणमा उल्लेख गरेकी छिन् ।

राजस्व परामर्श समितिको गठन र कार्यान्वयन, पारस्परिक र कूटनीतिक सम्बन्ध विस्तार, सहरी व्यवस्थापनमा गरेका प्रयासलाई पनि उनले पत्रमा उल्लेख गरकी छिन् ।

‘काठमाडौ महानगरपालिका सामाजिक सेवा विभाग अन्तरगत मेरो नेतृत्वमा अपाङ्गता भएका नागरिकको परिचयपत्र वितरण गर्ने कार्य भएको छ । जसमध्ये केही आवश्यक परेका व्यक्तिहरुको म स्वयं घरघरमै गएर उक्त परिचयपत्र वितरण गरिएको छ,’ उनले भनिन्, ‘शारीरिक अपाङ्गता भएका, सुस्त श्रवण, वौद्धिक अपाङ्गता भएका, दृष्टिविहीन, बहिरा, अटिज्म लगायतका ५ सय ७२ नागरिकलाई अहिलेसम्म परिचयपत्र वितरण गरिएको छ ।’

उहाँले थालनी गरिएका योजनाहरुलाई १० बुँदामा उल्लेख गरेकी छिन् ।  करको दायरा बृद्धि गरी वैज्ञानिक कर निर्धारण विधिलाई आत्मसाथ गर्न राजस्व परामर्श समितिबाट नगरसभाको निर्णय वमोजिम सहजीकरण भइरहेको, सबै मेलमिलाप केन्द्रको स्तरीकरण गरी वडा तहमै विवाद समाधान गर्नका लागि प्रयासहरु थालनी गरिएको, सूचना प्रविधिको माध्यमबाट न्याय सम्पादनलाई छिटो, छरितो र प्रभावकारी बनाउनेतर्फ कारवाही अघि बढेको कुरालगायलाई उनले श्वेतपत्रमा समेटेकी छिन् ।