मैले प्रत्यक्ष चुनाव लड्ने यो अन्तिम पटक हो : पम्फा भुसाल

काठमाडौं, 29 अक्टूबर 2022
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री एवम् माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आफूले प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै अन्तिम पटक भएको बताएकी छन्।
ललितपुर क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार उनले अर्को निर्वाचनमा भने आफू प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने घोषणा गरेकी हुन्।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अर्को निर्वाचन आउँदा आफू ६५ वर्ष पुग्ने भएकाले उमेर अवस्थाले गर्दा पनि आफूले निर्वाचन नलड्ने स्पष्ट पारेकी हुन्।
‘१६ वर्ष हुँदा म ललितपुर आएकी हुँ। ४४ वर्ष भयो यहाँ बसेको। म गत साउन ४ गतेबाट ६० वर्ष पुगे। अब अर्को संसद आउने बेलासम्म म ६५ वर्ष पुग्छु,’ उनले भनिन्।
भुसालले अब युवाले अवसर पाउनुपर्ने बताइन् । ‘मलाई रहर लाग्यो भने समानुपातिकमा जान्छु भनेपनि हुन्छ । राष्ट्रियसभा पनि छ । अरु राजनीतिक मोर्चाहरु पनि छन् । पार्टीको जिम्मेवारी लिएर कुनै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छु । अब मलाई अर्को चोटी उठ्ने रहर छैन’, भुसालले भनिन् ।