Trending News

कोभिड १९, सामाजिक दुरी र कृषि उधमशीलताको आधार

12 Shares

राम कार्की
नेपाल नव वर्ष २०७७ को पूर्व सन्ध्यामा छ, । यो क्षण नेपालीहरुका निम्ति स्वदेश तथा विदेशमा रहेका परिवार, आफन्त, ईष्टमित्र, साथीभाई बीच एकआपसमा भेटघाट र मंगलमय आशिरवचनका साथ शुभकामना आदान–प्रदान गरी आपसी हार्दिकता, सद्भाव अभिवृद्धि गर्ने सु–अवसर पनि हो । वास्तवमै यो क्षण नेपालीका लागि भ्याई नभ्याईको चटारो पर्ने समय, नयाँ उर्जा सहित नयाँ योजनाको परिकल्पना र अठोट लिने क्षण, उत्साह, उमंगको माहोल, आहा वातावरण नै क्या उल्लासमय १ तर विडम्वना नोवल कोरोना भाईरस र कोभिड १९ महामारीको केही यताको डढेलोले यस पटकको नव वर्षको पूर्व सन्ध्यामा आम नेपाली हर्ष न विस्मातको अवस्था तथा डर, चिन्ताग्रस्त मनस्थितिमा लक डाउन रुपी बन्धनमा बस्न विवश छन । चीनको वुहानमा जन्म लिएर, छापामार शैलीमा मानव जाति माथी जाइ लाग्ने र सकेसम्म इहलिला नै समाप्त गर्न उद्धत कोरोना भाईरस मत्ताहात्ती बनेर संसारभर विचरण गरिरहेको छ । आणविक हतियारले सु–सज्जित शक्तिशाली एवं सम्पन्न राष्ट्र, शक्तिशाली पदमा आसिन व्यक्तित्व पनि यसका अगाडि यतिखेर निरीह देखिएका छन ।

विश्व नै ठप्प छ, आम नागरिक स्तव्ध छन, मानव जीवन ठूलो जोखिममा छ । उद्योग धन्दा बन्द भई करोडौ मानिसको रोजगारी गुम्ने र बेरोजगारी चुलिने, भोकमरी र गरिवीले चरम रुप लिने आंकलन गरिदैछ । अहिलेको यो विपद्लाई विगत सन् १९३० ताकाको महामन्दी (Great Depression) र दोस्रो विश्व युद्वसँग तुलना गर्र्दै कोरोना भाईरस ती भन्दा पनि महाविपत्ति बनेर पृथ्वीमा अवतरण गरेको ठम्याई विश्व जगतले गरेको छ । अन्ततः यो महाविपत्ति विश्व शान्ति र सुरक्षाका लागि पनि चुनौति हुन सक्ने संकेत अन्तराष्ट्रिय क्षेत्रमा देखा पर्न थालेका छन । अर्काे तर्फ एकथरीले तत्कालका लागि यो जीवनमरणको चुनौति भएपनि दीर्घकालीन रुपमा महामारीबाट मुक्ति, नागरिकको जीवन रक्षाका लागि अपनाउनु पर्ने रणनीति र कार्यमा अब्बल शासकीय क्षमता प्रदर्शन तथा जर्जर बन्दै गएको अर्थतन्त्रलाई सवल बनाएर नागरिकको विश्वास जित्ने अवसरका रुपमा पनि लिनु पर्ने दृष्टिकोण पनि राख्ने गरेका छन ।

विज्ञान र प्रविधिको विकाससंगै विश्व एउटा ग्राममा रुपान्तरण भएको परिवेशमा कोरोना भाईरस पनि भुसको आगो जस्तै गरी संसारभरी नै सल्कदै गएको छ । यो लेख तयार पार्दासम्म २ सय १० देशका झण्डै १७ लाख ८० हजार भन्दा बढी मानिस संक्रमित भएका छन भने, १ लाख ८ हजार भन्दा बढीको मृत्यु भएको छ । यद्यपी उपचार पछि स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या पनि उल्लेखनिय (४ लाख ४ हजार भन्दा बढी ) भएपनि कोरोना भाईरसबाट संक्रमितको उपचारका लागि औषधी वा भ्याक्सिन पत्ता नलागेको कारण जो कोही मानिसमा मृत्युको भय, त्रास व्याप्त छ, त्यसैले कोराना भाईरसलाई सबै राष्ट्र र मानव जगतको साझा शत्रु भन्दा अत्युक्ति नहोला । यतिबेला सम्मको कोरोनाबाट बच्ने र बचाउने अचुक औषधी एवं अस्त्र भनेको सामाजिक दूरी (Social Distancing) कायम गर्नु नै हो । तसर्थ सामाजिक दूरीका आचार संहितालाई आत्मसात गर्दै अनुशासित, संयम रही आ–आफ्नो घरमा सुरक्षित बस्नुमा नै घर परिवार, समुदाय, राष्ट्र सबैको कल्याण हुनेछ । साथै राष्ट्रहरु र मानिसहरु बीच आपसमा समझदारी, समन्वय र एकताले पनि कोभिड १९ को सामना गर्न थप टेवा पुग्ने छ । त्यसकारण सर्वप्रथम यस पटकको नव बर्ष घर भित्रै बसेर मनाऔं, सामाजिक दूरी कायम गर्ने प्रतिवद्धतामा अडिग रहने प्रण गरौं । यही नै तपाई र तपाईको परिवार, समुदाय, स्वदेश विदेशमा बसेका दाजुभाई दिदीबहिनीहरुका निम्ति सु–स्वास्थ्य, दीर्घायु, समृद्धिको शुभकामना ।

कोरोना भाईरसको महामारीले विभिन्न मुलुकमा उग्र रुप लिदै जान थालेको सम्बन्धमा चर्चा, वहस हुन थालेको महिनौ भएपनि धिमा गतिका तयारी, हलुका टिकाटिप्पणी, नेपालसम्म कोरोना आईपुग्दैन वा रोग प्रतिरोधात्मक क्षमता नेपालीको बढी हुने भएकाले संक्रमणले छुदैन भन्ने खालका अभिव्यक्ति सहित सामान्य रुपमा लिने मानसिकता आदि परिदृष्यमा नेपालले ठूलो दुर्घटना व्यहोर्न पर्ने संसय बढदै गएको थियो । यद्यपी चैत्र ६ गतेको एसइई परीक्षाको पूर्व सन्ध्यामा एकाएक परीक्षा स्थगित गर्नुका साथै लक डाउनको रणनीति सहितका कदम चाल्दै कोरोना विरुद्धको महाअभियानमा होमिएपछि चाही कोभिड १९ लाई परास्त गर्न सकिने आशा जागेको छ । सरकारको यो आह्वान प्रति आम नागरिक, प्रमुख प्रतिपक्ष दल नेपाली कांगे्रसले नगद सहयोग सरकारको कोषमा जम्मा गर्दै यस महाअभियानमा सरकारलाई सहयोग गर्ने प्रतिवद्धता जनाएको र अन्य विपक्षी दलहरु, सामाजिक संघ संस्थाले पनि ऐक्यवद्धता जनाउँदै अदभूत एकता प्रदर्शन गरेका छन, जुन राष्ट्रिय एकताको अनुपम उदाहरण हो, यही एकताबाट प्राप्त हने उर्जाबाट राज्यले कोरोना भाईरसलाई परास्त गरी नागरिकको जीवनको रक्षा गर्न सक्षम हुने छ नकी आपसी वैमनस्यता, घोचपेच र नागरिकका चासो एवं प्रश्नहरुको मुखाले जवाफ दिने प्रवृतिले ।

कोरोना भाईरस विरुद्धको महाअभियानमा फ्रन्ट लाईनमा चिकित्सक, स्वास्थ्यकर्मीका साथै सुरक्षाकर्मी (नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान) हरु, राष्ट्रसेवक कर्मचारी, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी, सञ्चारकर्मीहरु आफ्नो जीउ ज्यानको परवाह नगरी अहोरात्र खटिरहेका छन, यो अर्को गौरव गर्न लायक परिदृष्य हुन । यिनै नेपाल आमाका होनाहार सपुतहरुको कर्तव्य बोध र अथक प्रयासले नेपालमा यो महामारीले आंकलन गरे जस्तो भयावह रुप लिन पाएको छैन, त्यसैले ती सबै सेवकहरुको मुक्त कण्ठले प्रशंसा गरी तिनीहरुको मनोवल अझ उच्च बनाउन योगदान गर्नु पनि जिम्मेवार नागरिकको कर्तव्य हो । त्यसैले असल कर्म गर्ने राष्ट्रसेवकहरुको उचित मुल्यांकन र प्रशंसा गर्न नचुकौ । स्वदेश र विदेशवाट आफ्नै गाउँ घर, थातथलोमा फर्केका ठूलो जनसमूहको पहिचानमा तदारुकता, क्वारेन्टाइनमा व्यवस्थापन, परीक्षण, गरीव असहायहरुका लागि खानपानको व्यवस्था सम्मका कार्यमा स्थानीय सरकार एवं जनप्रतिनिधिहरुको परिचालन र सक्रियताले राज्य गाउँ, टोलसम्म पुगेको अनुभूति भएको छ । जनप्रतिनिधिबाट भएको यो प्रशंसनीय कार्य हो, यसबाट आगामी दिनमा स्थानीय सरकारको स्वास्थ्य सेवा लगायतका क्षेत्रलाई थप साधन स्रोत सम्पन्न बनाई सवलीकरण गर्नेतर्फ संघीय सरकारको ध्यान जानु पर्ने देखिएको छ ।

अर्कोेतर्फ यो महामारीको विश्वव्यापी प्रकोपसंगै समस्या बनेर आउन लागेको छ बेरोजगारी, गरीवी र खाद्य सामग्रीको संकट । नेपाल कृषिजन्य खाद्य समेतका सामग्रीका लागि परनिर्भर हुदै गएको विदितै छ । यो महाविपद पछि एकाएक गाउँ फर्केको ठूलो समूह र दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने गरीवहरुका लागि खाद्य सामग्री अभाव हुने अहिलेको अर्को टड्कारो समस्या हो । विगत केही यता गाउँका कर्मशील युवाहरु परदेशीएका, घरमा ताल्चा लागेका, खेतबारी वाँझो परेका, घर कुरेर बसेकाहरु चामल, दाल, तरकारी, फलपूmल आदि खाद्यान्न बेसाएर जिविकोपार्जन गरिरहेको विडम्वनापूर्ण अवस्था छ ।

आज प्रकृतिले हामी सबैलाई यो परिस्थितिको गम्भीर ढंगबाट विश्लेषण गर्दै बाँझा खेतवारीमा हरियाली ल्याउने नयाँ परिकल्पना गर्ने, योजना बनाउने, दह्रो अठोट लिने र कर्ममा जुटनु पर्ने मोडमा उभ्याएको छ । प्रकृतिले हामीलाई दिएको अमूल्य माटो र अथाह जनशक्तिको समुचित सदुपयोग गरी कृषिजन्य वस्तुहरुको उत्पादन वृद्धि गरी दैनिक खाद्य सामग्रीका लागि आत्मनिर्भर बन्न जरुरी छ, जसले भविष्यमा आई पर्नसक्ने खाद्य संकटको सामना गर्न सकिने छ । तसर्थ पराम्परागत कृषिलाई कृषि उद्यमशीलतामा रुपान्तरण गरी कृषि जागरण अभियान अघि बढाउने प्रण पनि यो नयाँ वर्षमा गरौं । जसले जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी भन्ने मूलमन्त्रको सार्थकता प्राप्त हुनेछ ।

(लेखकः राष्ट्रिय अनुसन्धान विभागका पूर्व डिआइजी एवं पाल्पा क्षेत्र नम्बर २ प्रदेश (ख) का प्रदेश सांसदका उम्मेदवार समेत हुनुहुन्छ ।)