Trending News

कोहि छ, प्रवासी नेपाली मजदुर वर्गको चित्कार सुनिदिने ?

474 Shares

गोविन्द पोख्रेल
कोहि छ ? यो शब्द कुनै कुनै बेला गल्लि एवं मोहल्लाका गुण्डा नाथेहरु प्रकट गर्ने गर्थे र यसैसँग सम्बन्धित विभिन्न चलचित्र (फिल्म) हरुमा चित्रण गरिएको भाव सँगै प्रकट हुने गर्दथ्यो । यो भाव, कोहि छ ? त्यो पनि गुण्डाकै रोलमा रहेको नायकले प्रयोग गर्ने शब्द । तर आज सिंगो मानव जगत नै कोरोना महामारीको चपेटामा पिल्सिएको बेला खास गरि भोको पेट र नांगो शरिर ढाक्न बाध्यताले विदेशीएका भारत प्रवासका नेपाली मजदुर वर्गका मानिसहरु भन्दैछन, कोहि छ, हाम्रो आवाज सुनिदिने ?

कोहि छ ? हाम्रो उद्दारका लागि अघि आउने ? आज भन्दैछन, खै कहाँ गए ? विगतमा मानव अधिकारका ठुल्ठुला गफ दिने मानव अधिकारकर्मिहरु ? कहाँ गए, नागरीक समाजका अगुवा नाईकेहरु ? आज अनेकन प्रश्नहरु ति मजदुर वर्गका लागि उत्तर विहिन भएर तेर्सिएका छन ।
विचरा मजदुर वर्ग, त्यो पनि छिमेकी मुलुकमा दैनिक ज्यालादारीमा काम गरेर जिविकोपार्जन गर्नेहरु । कोहि छ, तिनिहरुका लागि दुई शब्द बोलिदिने ?
आज प्रवासी नेपाली भन्दैछन, विगतमा राशन कार्ड, भोटर कार्ड र आधार कार्ड पाउने अवस्थामा स्वाभिमानी नेपाली बन्ने हामी कति लाचार रहेछौ । नेपाली शब्द नै प्रिय लाग्थ्यो । नेपाली, बहादुर, कान्छा, गोर्खे र डोटियाल भन्दा हेपेको भान हुन्थ्यो र प्रतिकारमा उत्रन्थ्यौ । धोति भनेर गालि गर्दथ्यौ । कसका लागि गरियो ? यो सबै, हामीले किन गरियो ? धोति गाली । आखिर उनीहरु नै आज सकेसम्मको हाम्रा लागि भगवान जस्तै बनेका छन ।
स्वाभिमानी बनिएको भन्ने कुराको उत्तर बल्ल थाह पाईयो र तिनका लागि गरिएछ । जो आज देशमा राजनैतिक आडमा आफुलाई सर्वशक्तिमान बनाउने र नागरीकको कुरा सुन्नै न चाहानेका लागि । नेताहरुका लागि हामी स्वाभिमानी भैदियौ । धन्य हाम्रो देश आफ्ना नागरीकलाई भित्राउने कुनै पहल पनि गर्दैन ।
अहिले भारतीय सुरक्षा कर्मिले जब तेरे देशको कोई मतलब नहि हे तो हाम क्या करें ? भन्दा हामीलाई तितो लाग्दैन किनकी वास्तबिकता नै यहि हो । आज सकेसम्मको हाम्रो हेर विचार उनीहरु गरीरहेका छन । स्वाभिमानका लागि तेत्रो घमण्ड हामीले कसका लागि गरियो ? किन गरियो ? मानिस चेतनशील प्राणी हो भनेर पढियो । तर चेतनाको विकास भएको आभास भने, अहिले आएर पटक्कै भएको छैन ।
सरकारले राखेका सबै शर्तहरु सिरोधार्य गर्छौ । हामी टाढा छैनौ देशको दशगजाबाट पाँच देखि दश किलोमिटर भित्र छौ । छिमेकी देशले दिएको दिशा निर्देशनमा बसेका छौ । समय पुरा गर्यौ, हामी ठिक छौ । हामीलाई हाम्रो देशमा लैजाउ राज्य हाम्रो गुहार मात्र त सुनिदेऊ । कोहि छ ? सुनिदेउ न हाम्रो गुहार, भन्दै रातदिन अलाप गर्छन तर सुन्ने कोही छैन । न त राज्य, न संघिय सरकार न स्थानीय सरकार !
कोहि छ ? नागरीकको राज्यसँगको अधिकार विषयमा सुनिदिने, सर्वोच्चले दुई दुई पटक राज्यको केन्द्र सरकारलाई आदेश जारी गरेको समाचार पनि झुटो नै हो की ? आश्चर्य मान्दै अलाप र विलापमा दुःखि भएका नागरीकका दयनीय अवस्थामा सरोकार राख्ने, कोहि छ ? न नागरीक समाज, न मानव अधिकारकर्मि न राजनैतिक दलका नेताहरु नै !
हे दैव, अब त अति नै भयो । कति निष्ठुरी तेरो लिला ! समस्या समाधान होला नि एक दिन पक्कै पनि, राज्य संयन्त्र चलाउन चुनाव पनि आउला । यो संकट र यो लिला सबै बिर्सेर फेरी हामी तिनै नेताहरुको मासु भातमा रमाउदै, जिन्दावाद र मुर्दावादको नारा बोकेर, पछि पछि दगुर्ने छौ । आफ्नै दाजुभाइ र साथीभाइलाई कुट्न पनि पछि पर्ने छैनौ । विगतमा एउटा गीत गुन्जिंथ्यो, कि हार्यो अब यहि एउटा जीवन-की जित्यो संसार, छाती भर पीर बोकेर बस्न कसलाई पो मन छ र ?यति गरेर जसलाई राज्य संचालनको जिम्मा लगाउछौ, संकटमा उसले चिन्दैन । कोहि छ ? हाम्रो चित्कार सुन्ने ? न त संसार जितेकाहरुले सुने, न सरकारको नेतृत्व गरेका दलहरुले नै सुने, न प्रतिपक्षमा रहेका दलहरु सुन्छन ।
कोहि छ ?   कोहि छ ? कोहि छ ? 

मानवीय जीवनका विभिन्न श्रृंखलासँग सम्बन्धित सम्पूर्ण विषयबस्तु सँग सरोकार राख्ने कुराहरुलाइ मानव अधिकार सँग जोड्न सकिन्छ । जीवन यापनको पद्धतिमा स्वतन्त्रता सबैभन्दा महत्वपूर्ण विषय हो एकातिर भने, अर्कोतिर मौलिक अधिकार । स्वतन्त्र जीवनयापनमा मानीसले सरल, सुलभ र सेवामूलक अधिकारहरु पाउनुपर्छ । यी र यस्ता विषयहरु सम्बन्धित राज्यले नागरीकहरुका लागि सुनिश्चित गरेको हुन्छ । कुनैपनि देशले मानवीय जीवनका लागि स्वतन्त्रतासँग सम्बन्धित छुट्टाएका विषयबस्तुहरुमा पाउने सेवा र सुविधा समान ढंगले सबै नागरीकहरुका लागि समान अधिकारको रुपमा सुनिश्चित गर्नु सम्बन्धित राज्यको धर्म नै हो, भन्दा फरक नपर्ला ।
राज्यले सुनिश्चित गर्ने कुराहरु नागरीक स्वतन्त्रता, राजनैतिक अधिकार, आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार, स्वतन्त्र रुपमा काम गर्ने अधिकार, शिक्षा आर्जन गर्ने अधिकार र रहन सहन, खानपिनसँग सम्बन्धित अधिकारहरु सम्बन्धित राज्यका नागरीकहरु सबैका लागि समान हुन्छन, र हुनुपर्छ ।
तर बिडम्बना, विश्व नै कोभिड १९, को चपेटामा आउदा रोगले भन्दा पनि भोकले मर्ने सम्भावना प्रवल देखियो । अर्कै देश, अर्कै थियो परिवेश र त भारतबाट नेपाल जान पाए बाँच्ने लालसा राखेर सिमाना पारिसम्म आईपुगे मजदुरहरु । तर कति पनि हेक्का राखेनन्, सिमाना वारी आफ्नो देश छिर्न प्रतिबन्ध होला भन्ने । भारततिरबाटै उनीहरुको उद्दार गरिने भयो, र सबै १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्छ भन्ने कुराले आशा पलायो ।
ये जाबो १४ दिन बसेपछि त भित्रिन पाईनेहोला नि भनेर । तर विचरा तल्लो श्रेणीमा काम गर्ने निमुखा, मजदूर र सर्वहारा वर्गका मानिसलाई के थाह ? राज्यले सुनुवाई गरेन, लकडाउन बढ्दै गयो । प्रवासी नेपालीको ठुलो जमात अलपत्र छ, सिमाना पारी । वारी छन, लाला बाला र बृद्ध आमाबुबा । पारी हुनेहरुको कस्तो विचल्ली, कसैका श्रीमति सुत्केरी छन त कसैका श्रीमान विरामी । कोहि छ ? यी बेहाल भएका प्रवासी नेपालीको व्यथा सुनिदिने ?
राजनैतिक दाउ पेच र दलाली पेशामा लिप्त मानिसहरु जहाँ मोटो रकम हात पार्न सकिन्छ, त्यतैतिर लिप्त हुनु स्वाभाविक नै हो । तर कानुनि राज्यले निर्वाह गर्नुपर्ने धर्मका आधारमा कमसेकम अलपत्र परेका देशका नागरीकहरु लाई उनीहरुको चेक–जाँचको सबै प्रक्रिया पुरा गरेर भित्राउने कुरामा जोड दिनुपर्ने हो । खै कुन्नी राज्यको संरचनाको ध्यान ति प्रवासी मजदुर वर्गप्रति जान सकेन ।
जबकी कानुनी राज्य संयन्त्रमा रहेको अदालतको उपल्लो निकायले समेत सरकारलाई आदेश जारी गरिसकेको यो अवस्थामा राज्यले सुनुवाई गर्दैन भने, यहाँनेर पुनः तेहि प्रश्न तेर्सिन्छ, कोहि छ, प्रवासी नेपाली मजदुर वर्गको चित्कार सुनिदिने ?
                                            लेखक : नेपाल पत्रकार महासंघ भारतका सल्लाहकार प्रमुख हुन ।