Trending News

“दोहोरो संकटको मारमा भारतमा रहेका प्रवासी नेपाली ” खोई दूतावासको भूमिका ?

638 Shares

लेखक, सुरेन्द्र बोहरा

6 मे 2020

भारतमा तेस्रो चरणको लकडाउन थप गरिएको छ।विश्वमाहामारीको रूपमा फैलिएको कोविद 19 अर्थात् कोरोना भाइरसको आत्मघाती संक्रमण कम गर्ने पहिलो र सबैभन्दा प्रभावकारी माध्यम नै संसारमा लकडाउन पुष्टि भइरहेको सन्दर्भमा भारतमा जुन 15 दिनको समय थप घोषणा भएको छ यो आवश्यक थियो र छ । अतः यसको कडाइपूर्वक पालना गर्नु प्रवासी नेपालीहरूको लागि पनी अत्यावश्यक देखिन्छ। तर, भारतस्थित बिचल्ली र अलपत्रमा परेका अर्थात् दैनिक नौकरी पेशाबाट विमुख भएका लाखौं नेपालीहरुलाई पीडामाथि पीडा थपिएको छ । लकडाउनको समयसीमा बढेसँगै थात बासको समस्या पनि बढ्दै गएको छ र कोरोना संक्रमणको भन्दा पनि भोकमरीले बढी ग्रस्त हुने सम्भावना बढेको गुनासो आम प्रवासी नेपालीहरुको रहेको छ।

सारा विश्व र मानवजाति अहिले कोरोना भाइरसबाट बाँच्नको लागि लड्दैछ, तर विडम्बना भारतमा रहेका हामी प्रवासी नेपाली नागरिकहरुले कोरोना जस्तो प्राणघातक रोगसँग त लड्नु परेको छ नै सँगसँगै भोकको समस्यासँग पनि लड्नु परेको छ अर्थात् एकातिर रोगबाट संक्रमण हुने डर भने अर्कातिर भोकमरी को डर! यो दोहोरो संक्रमण र संकटको कारण भारतमा रहेका हामी लाखौं नेपालीहरूको ज्यान र जहान खतरामा परेको छ।

यस्तो महा–विपतको बेला भारत स्थितविभिन्न सामाजिक तथा राजनैतिक संघ-संस्थाहरु मानवीय आवश्यकता पूर्तिका लागि अहोरात्र खटिरहेका छन् र आफ्नो सामाजिक कर्तव्य निर्वाह गरिरहेका छन् र विपतमा परेका नेपालीहरूको आवाज सम्बन्धित राज्य र सरकारसमक्ष पुर्याउने भरपूर प्रयास पनि गरिरहेका छन् । हुन पनि हो, निष्पक्ष एंव निस्वार्थ रूपले एक–अर्काको सहयोग गर्नुनै साँचो अर्थमा मानवता हो ।

तर दुःखद र खेदजनक कुरा के छ भने, प्रवासी नेपाली आफ्ना नागरिकको जीवन र सुरक्षाको जिम्मेवारी बहन गर्ने सरकारी निकाय दिल्लीस्थित नेपाली राजदूतावास अनुहारमा बुर्का हालेर मौन भएको छ। सामान्यतः आफ्नो काम, कर्तव्य र क्षेत्राधिकार भित्रै रहेर समेत यो संकटको विशिष्ट बेलामा निष्क्रिय जस्तै भएको देखिन्छ। केवल औपचारिकताको लागि र कथित आपातकालीन हेल्पलाइनको नाउँमा केही फोन नम्बरहरू सार्वजनिक मात्रै गरेको छ। त्यो पनि उठ्दैन, त्यसको भुक्तभोगी म आफै पनि हो । सुरुवाती लकडाउनको समयमा करिब पाँच दिन त प्रयास गरे रिसिभ भएन अनी कल गर्न नै बन्द गरिदए। अनि दूतावासका केही सिनियर कर्मचारीहरुको पर्सनल नम्बरमा पनि डायल गरे झनै रिसिभ भएन। उहाँहरुको मोबाइलमा मेरो नम्बर सेव नै थिएन किन रिसिभ होस र !!

केही दिन पश्चात दूतावास संग च्यानल भएका एक जना मित्र मार्फत बल्ल कुरा गर्ने साइत जुर्यो र दूतावास बाट आदेश आयो बल्ल“ भन्नुस विशेष के होला”? अनि मैले मेरो सम्पर्कमा भएका गुरुग्राम, फरिदाबाद, नोएडा र दिल्लीका विभिन्न स्थानमामा दैनिक छाकबास गर्ने 175 जनाको नाम, नम्बर र समस्या नोट गर्न लगाए। तर एक महिना भन्दा बढी भइसक्यो कहीं कतै पीडितहरुको सुनुवाई भएन। यो नै भारतभर रहेका नेपालीहरु र दूतावास बीचको वास्तविकता हो । दूतावासको भुमिका यहाँका सामाजिक संघ–संस्थाहरुले निभाएका छन् तर दूतावास भने पन्छिएको अवस्था छ।

मैले जानेको कुरा के हो भने, कुनै पनि देशमा राजदूतावास राख्नुको कारण त्यहाँ रहेका आफ्ना देशका नागरिकलाई पर्ने समस्याको समाधान गर्नु हो । र यस अर्थमा भारतमा राजदूतावासको भूमिका त झनै विशेष हुनुपर्छ । तर अफसोस, यहाँ भएको दूतावासले गरेको काम यहाँ मजदूरी गर्ने लाखौं मजदूरहरुले कहिल्यै अनुभव गर्न सकेन । झन यो कोरोना कालको घडीमा त झनै छर्लङ्ग भएको छ ।

यहाँ रहेका हामी प्रवासी नेपालीहरु अझै पनि आशावादी छौं, आजको यस महासंकट र विपतको बेला भारतस्थित नेपाली राजदूतावास र त्यहाँ नियुक्त कर्मचारीहरु कर्तव्यनिष्ठ बनुन र नेपाल अनि नेपालीप्रति जवाफदेही बनुन। महामहिम राजदूत र उहाँको कार्यालयले आफ्नो जिम्मेवारी बोध गर्न सकुन।  भारतमा समस्या झेलिहरेका नेपालीहरूको सही अवस्था र आवश्यकता अनि तथ्याङ्कको जानकारी नेपाल सरकारसमक्ष अवगत गराउँदै यथाशीघ्र समस्या समाधानको लागि स्रोत साधनको आपूर्ति सहित नेपालीको उद्दार कार्य अघि बढोस्।

भारत भर हामी नेपालीहरुको समस्या “दिन दोगुना र रात चौगुना ”बढ्दै छ,। हाम्रो उपर्युक्त समस्याप्रति जसरी दूतावास सक्रीय र जवाफदेही नभएको अवस्था देखियो त्यसै गरि भारतमा बलियो पकड भएका वा प्रवासी नेपालीहरुमाझ प्रभावकारी उपस्थिति भएका विशेष गरेर सत्ताधारी दल नजिकका राजनैतिक संगठनहरू छन्, उहाँहरू पनि अली बढी जिम्मेवार हुनु आवश्यक देखिन्छ र अभिभावकीय भूमिका निर्वाह गर्न जरुरी छ। अहिले सम्म जसरी अन्य सामाजिक संस्थाहरू समान केही राहत राशन बाँडेर आफ्नो मर्यादा कायम गरिरहने प्रयासमा हुनुहुन्छ। अतः आफ्नो दलीय नेतृत्वको सरकार समक्ष प्रवासीहरुको यथार्त अवस्था र आवश्यकता अवगत गर्दै चाँडो उद्दार गराउने कुरामा असफल सिद्ध भएको स्थिति छ।

कृपया! तपाईंहरू सँग त सरकार हल्लाउने असल शक्ति छ नी ! आफ्नो पावरको प्रयोग गर्ने उपयुक्त बेला यही हो त ! तपाईंहरू किन सक्नुहुन्न ? हामी आम नागरिकको भन्दा तपाईंहरू विश्वासको पात्र हो । त्यस कारण राज्य द्वारा तुरुन्तै नेपालीहरूको उद्दार कार्यको लागि कदम अगाडि बढाउनुस् हामी साथमा छौं । अन्यथा हामी पीडा खेप्न बाध्य प्रवासी नेपालीहरुले झन् पीडा र भोकमरी खेप्नु पर्नेछ ।

अन्तमा लकडाउनको पूर्ण पालना गरौं ,नागरिक दूरी कायम गर्दै विश्व महामारी कोरोना संक्रमण र भोकमरीको संक्रमण सँग लड्न आपसी एंव भावनात्मक एकता कायम गर्दै प्रवासी नेपालीहरूको चाँडो उद्दार गर्न गराउन नेपाल सरकार समक्ष जोडदार माग गरौं । सरकारले प्रवासी नेपालीको आवाज बेलैमा सुनोस्। अन्यथा “जनता नै इतिहाँस का निर्माता हुन् ” भन्ने कुरा …….।

सुरेन्द्र बोहरा मेची महाकाली जागरण अभियानको महासचिव हुनुहुन्छ ।