Trending News

‘कहिँ नभएको जात्रा हाँडी गाउँमा’, महामारीका बिच सत्ताको खेल

41 Shares

हरि प्रसाद घिमिरे, केन्द्रीय सचिवालय सदस्य,

प्रवासी नेपाली संघ ‘भारत’

लामो समयदेखि विश्व नै कोरोना भाइरस महामारीको कारणले भयभित भएको छ। लाखौँ-लाख संक्रमित भएका  छन्, भने लाखौँको संख्यामा  मानिसहरुको मृत्यु भएको छ। अन्य देशहरूको दाँजोमा विकसित देशहरूमा माहामारीको संक्रमण अत्यन्तै बढ्दो क्रममा छ, जसको कारण  बेरोजगारी बढेको छ। संसारभरि नै भयावहको स्थिति उत्पन्न भएको छ। हाम्रो देश नेपाल पनि यसबाट अछुतो रहनसक्ने कुनै विकल्प थिएन। नेपालमा पनि दिनानुदिन संक्रमण बढिरहेको छ। लामो समयसम्म भएको लकडाउनको कारण अर्थव्यवस्थामा प्रतिकुल प्रभाव देखिन थालेको छ।

ठिक यही बेला नेपालमा ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा’ भने झैँ नेकपाका केही शीर्षस्थ नेताहरू सोहि पार्टीको सरकारको बिचमा रहन गएको असमझदारीले सिंगो नेपाल र नेपालीहरुको जीवन र भविष्यमाथि अत्यन्तै गैर-जिम्मेवारी र विवेकहीनताको पराकाष्ठा देखिएको छ। केवल पद-प्रतिष्ठाको  निकृष्ट खेलका कारण खतरनाक भाइरसलाई नियन्त्रण गर्ने काममा सरकारको  ध्यान भट्किएको जस्तो देखिन्छ। कारण, देश तथा संसारभरि छरिएर जिविका पार्जन गर्ने नेपालीहरुको लागि अत्यन्तै चिन्ताको विषय बनेको छ। “काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर” भने झैँ महामारीको कारण देश अक्रान्त भएको अवस्थामा नेताहरूको यस्तो गैर-जिम्मेवारी रवैयाका कारणले देशभित्र झनै ठुलो दुर्घटना घट्न सक्ने स्थितिको सिर्जना भएको छ।

एकातर्फ महामारीको कारण जताततै बढ्दो त्रास र असुरक्षा छ। बेरोजगारीले  स्थिति भयावह बन्नुको साथै विश्वभरि डगमगाउन थालेको अर्थतन्त्रले मानवीय संवेदना र मानवीय सम्पत्तिमाथि गम्भीर क्षय हुने देखिएको छ। नेपाल मात्र नभई संसारभरि यस्तो भयावह भएको प्रतिकुल परिस्थितिलाई मुल्याङ्कन नै नगरी निरपेक्ष ढङ्गले गुटको मात्र हितमा काम गर्ने सरकार होस् वा जो सुकै गुटका नेताहरू किन नहुन्, ती सबै राष्ट्र र जनताका दुश्मन हुन भन्न लाज मान्नु पर्ने ठाउँ अब बचेको छ जस्तो लाग्दैन। आज भारतलगायत संसारका विभिन्न देशहरूमा आफ्नो श्रम बेच्न विवश नेपालीहरुको अवस्था कठिन छ, दयनीय छ। दिनहुँ खान नपाएर मृत्यु भएको खबर आउन थालेको छ। यस्तो बेला देशको शीर्सस्थ ठाउँमा रहेका नेताहरू अनेक-अनेक ठाउँमा विधि पद्धति प्रक्रिया विपरीत गुटका बैठकहरु बसेर निर्वाचित पार्टीको अध्यक्ष र प्रधानमन्त्रीको राजिनामा माग्ने भन्ने जस्तो लज्जास्पद कुरा अरू केही हुन सक्दैन। आजका दिनहरूमा नेपालीलगायत  विभिन्न देशहरूमा भोको पेट र नाङ्गो शरीर देखाएर हिड्न विवशतामा परेका सिधा-साधा श्रम गरेर खानेमा मात्र विश्वास राख्ने नेपाली जनतालाई विगतको दिनहरूमा विभिन्न खाले आन्दोलनहरुबाट मात्र सम्भव छ। जिउन सक्ने   अविश्वसनिय भविष्यको अकल्पनीय सपना देखाएर नेता बन्न पुगेका तथाकथितहरु अहिले ती नेपाली जनताहरुको महामारीको कारणले भएको र देखिएको  दुर्दशा प्रति मौन छन्, अन्जान भएका छन्। केवल कुर्सीको मोहमा आफ्नो सम्पूर्ण जिम्मेवारीलाई त्यागी दिएका छन्। बेवास्ता गरेका छन्। यति बेला प्रतिपक्षले नैतिकता र जिम्मेवारीका साथ अति आवश्यक ठाउँ र सृजित अवस्थालाई मात्र ध्यानमा राखि  सरकारको  विपक्षमा मुद्दा उठाएको बेला आफ्नै सरकार भएका पार्टीका नेताहरूले निश्चित कारण बेगर केवल पद-प्रतिष्ठाको लागि  मुद्दा उठाउनु भनेको  नितान्त गैरजिम्मेवारी हो। यसलाई जति भत्सर्ना गऱ्यो त्यति कम हुन्छ। यस्तो गैर-जिम्मेवारी नेतृत्व तहमा देखिनु पार्टीका नेता कार्यकर्ताको लागि मात्र नभएर देशका अन्य राष्ट्रिय पार्टीका जिम्मेवार नेता कार्यकर्ताहरुको लागि पनि अधैर्यता, दुर्भाग्यपूर्ण र गलत नजिरको थालनी हो।

कतिपय बेला राम्रो काम गर्छु भन्दा-भन्दै पनि गलत हुनसक्छ, त्यसलाई हार्दिकताका साथ पनि खबरदारी गर्न सकिन्छ, सुझाव दिन सकिन्छ, पार्टीभित्र आन्तरिक रुपमा  सामुहिक छलफल चलाएर आलोचना-आत्मालोचना गर्न सकिन्छ। यही नै प्रक्रिया र पद्धति हैन र जनताहरुलाई सिकाएको तपाईंहरुले? तर तपाईंहरु त सिध्याउने सिध्दिने ढंगले लाग्नुभएको छ। के यो राम्रो हो? यस्तो खाले नजिर बसाल्नु, बनाउनु लोकतन्त्रको हितमा हुनसक्छ? यो असान्दर्भिक छ। यो त अयोग्य मानिसहरूले गर्ने अविवेकपुर्ण र तुच्छ कार्य हो। यसबाट सबै सच्चिनु जरुरी छ, यस्तो कार्यले तपाईंहरुले जिवनभर अनमोल ढंगले कमाएको राजनीतिक एवम् सामाजिक पुँजी सदा-सदाको लागि समाप्त हुनेछ। जनताको नजरबाट विश्वास गुम्ने छ, राष्ट्रले तपाईंहरुलाई अस्थिरता निम्त्याउने नेताहरूको रुपमा चिन्नेछन्। मैले यस्तो किन भनिरहेको छु भने सरकारबाट गरे जतिका कामहरू सबै राम्रा भएका छन् भनेर वकालत गर्न पनि खोजिरहेको हैन केवल सिस्टम भएन भन्ने भनाइ हो मेरो। विरोध गर्नुको पनि एउटा तरिका हुन्छ, ठाउँ हुन्छ निश्चित मुद्दा हुन्छ, के यस्ता विषय मुद्दामा जनताको समर्थन हुन्छ, भन्ने ठान्नु भएको छ किमार्थ हुदैन कल्पना गर्नु पनि गलत हुनेछ। एकपटक  पछि फर्केर हेर्नुस् तपाईंहरुले विभिन्न बेलामा राजनीतिक स्वार्थको लागि संचालन गरेका अनेकौँ ढंगका कार्यक्रमहरुमा समर्थन र सहयोगी भएको कारण लाखौँ मानिसहरु अलग-थलग भएका मात्रै छैनन् ज्युज्यान नै गुमाएका छन्। अर्बौँ-अर्ब राष्ट्रको सम्पत्ति बर्वाद भएको छ, लाखौँ नेपाली जनता अनाथ, असहाय, अपांग, विधुवासहित हजारौँ मानिस बेपत्ता भएको इतिहास तपाईंहरुले नै बनाउनुभएको छ। फेरि पनि तपाईंहरु प्रति जनताको अझै पनस अपार माया र समर्थन कारण झन्डै दुईतिहाईको नजिक पुर्‍याएर 5 वर्ष वेगर रोकटोक  सरकार चलाउ भनेर पठाएका हुन। बहुमतको सरकारलबाट देशको विकास हुनेछ, राष्ट्रिय आकांक्षा भित्र हाम्रा सपनाहरू पनि पुरा होलान, आवश्यताको हिसाबले सबैका गाँसबास र कपासको ग्यारेन्टी होला भनेर नै त्यहाँ पठाएका हुन निर्दोष जनताहरुलाई के थाहा थियो र तपाईंहरु भित्र छिपेको जालझेल र अक्रमण्डताको बारेमा जिम्मेवारीमा पुगेपछि यस्तो नाङ्गो ढंगले प्रस्तुत हुनुहुनेछन् भनेर। यतिबेला तपाईंहरुमा देखिएको नौटङ्कि चलखेल र प्रवृत्तिले कहाँबाट संचालित हो भन्ने पनि थुप्रै संका उपसंखाहरु उत्पन्न हुनु स्वाभाविकै भएको छ।

एकातिर विश्व नै माहामारीको चपेटामा परेको अत्यन्तै कठिन र जटिल अवस्थालाई नजरअन्दाज गर्दै मौका छोपेझै गरि देशको सम्प्रभुतामाथि कुठाराघात गर्दै भारतले आफ्नो विस्तारवादी नंग्रा नेपालको भूमि लिपुलेकमा 80 किलोमिटर सडकको उद्घाटन गरेछ। जसको जवाफ त हाम्रो कुनै  राष्ट्रवादी नेताहरुसँग छैन्। यस्तो हो राष्ट्रवाद कलहले निम्त्याउने। भने आर्को तिर चिनीयाँ नागरिकहरुले सिंहदरबार जस्तो संवेदनशील ठाउँमा नेपाली सुरक्षाकर्मीको छाति पक्डेर कुट्ने, पिट्ने र घाइते बनाउँछन्। यस्तो राष्ट्रिय अस्मिता र संप्रभुतामा आक्रमण हूँदासम्म चुइँक्क नबोल्ने द्रौपदीको चिरहरणका लाछी भारदार जस्तालाई जनताले राम्ररी चिनिरहेका छन्। चिन्ने पनि छन् आवश्यकता अनुसारको जवाफ अवश्य दिने छन्। अझै होस ठाउँमा छ भने पद र प्रतिष्ठाको चाहानामा होस नगुमाएको भए राम्रो हुनेछ, किनकि “भाई फुटे गवारा लुटे” भन्ने जुन सत्य प्रचलन छ, त्यसबाट बचौँ र पार्टीको विधान तह काम गर्न कार्यकर्ताले मात्रै हैन नेतृत्वले पनि सिकौँ, अनय विनयका साथ अनुरोध छ। अझै पनि पार्टीका विवेक पुर्याउने हो भने, विधान सम्मत ढंगले हार्दिकताका साथ अन्तरसंघर्ष गर्न सक्नुपर्छ,  तर अन्तरसंघर्षको नाममा टाउकाको मोल गरी विधि प्रक्रिया मिच्ने काम गरिएन भने मात्र यहाँ केवल धैर्यताको खाँचो हुन्छ। राजनीतिमा समयसापेक्ष धैर्य हुन नसक्ने नेताहरू अस्थिर हुने कुरा स्वभाविक हो, जो यतिबेला नेताहरूमा देखिएको छ। यस्तै रहिरहने हो भने नत कुनै विचारको कदर र सम्मान हुनेछ, नत कुनै आगामि दिनहरूका लागि आवश्यकता अनुरुपको कार्य योजनानै बन्नसक्नेछ। किनकि सबैले निजि स्वार्थको वकालत गर्ने मात्र काम हुने सम्भावना बढ्नेछ। हामी सबैलाई थाहा छ, यसबेला पार्टीको शीर्षस्थ नेतृत्वमा देखिएको अपरिपक्वताले पार्टीभित्र होस् वा सरकारमा, केवल अस्थिरता मात्र ल्याउने हो। त्यसैले एकताको भावनालाई कुल्चने धृष्टता कसैबाट कहि नहोस, जनताको जनभावनाको कुठाराघात हुनेछ, ‘न बास रहने छ, नत बासुरिनै’ बन्नेछ। चेतना भया!!!

यतिबेला तपाईंहरुको विवेकले काम गर्न सकेमा यो माहामारीका कारण विचल्लीमा परेकाहरुलाई उद्धार गर्न तिर लाग्ने कि! देशभित्र आवश्यक वस्तुको अभावले, खाँचोले विभिन्न ढंगले भारतलगायत संसारभरि फैलिएका नेपाली जनताहरु कोरोना भाइरस महामारीको कारणले  भोक-भोकै आर्तनाद गरिरहेका छन्, राज्यले शसर्त देश भित्र्याउनु पर्यो या त दुई देशका सरकारले नीति बनाएर राजदुतावास एवम् प्रवासी नेपालीहरुका संघ/संगठनहरुसँग समन्वयात्मक ढंगले राहतको व्यवस्था गरी स्थिति सामान्य नहुदासम्म जो जहाँ जहाँ नेपाली नागरिक हुनुहुन्छ त्यही रहनको लागि आवश्यकतालाई हेरेर उचित व्यवस्थापनको काम मिलाउन सक्नु पऱ्यो। यद्यपि यस विषयमा कतै ढिलाइ भयो भने  अत्यन्तै ठुलो दुर्घटना हुने कुरामा पनि सचेत रहन सम्बन्धित सरोकारका सबैलाई विनम्र अनुरोध गर्दछु।