Trending News

दिल्लीमा फेरि एक कोरोना संक्रमित नेपालीको मृत्यु, ओखलामा काम गर्दै आएका थिए मृतक

5K Shares

नयाँ दिल्ली, 16 जुन 2020, खुम गुरुङ

भारतको राजधानी दिल्लीको ओखलामा एक नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । धादिङ ज्वालामुखी गाँउपालिका वडा नम्बर 2 मैदी मुजकोटका स्थायी वासिन्दा 54 वर्षीय गणेश श्रेष्ठको शनिबार निधन भएको हो । उनको हिजो सोमबार पंजाबीबागस्थित शमसान घाटमा अन्तेयष्टी गरिएको छ । जानकारीका अनुसार श्रेष्ठ ओखला एस -1 युनाइटेड प्याकेजिङ फेस -2 मा काम गर्दै आएका थिए । उनलाई गत 8 जुनदेखि हल्का ज्वरो आइरहेको थियो । उनले नजिकैको मेडिकलबाट ज्वरोको औषधी लिएर सेवन गरिरहेका थिए । तर उनको स्वास्थ्य अवस्था बिग्रिएपछि 12 जुनका दिन उनलाई सफदरजंग अस्पतालमा भर्ना गरिएको थियो । 13 जुनका दिन उनको उपचारकै क्रममा निधन भएको हो । त्यसपछि धादिङ समाजका मनु श्रेष्ठको रोहवरमा मृतकका आफन्त गरि 5 जनाको उपस्थितिमा अन्तिम संस्कार गरिएको  धादिङ समाजका संयोजक अर्जुन धरेलले जानकारी दिनु भएको छ । जानकारीका अनुसार अस्पतालले एउटै एम्बुलेन्समा 6 वटा शवलाई शमसानघाट पुर्याएर आफन्तको उपस्थितिमा अन्तिम संस्कार गरिएको थियो । अर्कोतर्फ मृतक गणेश श्रेष्ठले काम गर्ने कम्पनीले मृतक परिवारलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेको बुझिएको छ । यसअघि दिल्लीको पहाडगंजमा पनि झापाका ज्ञानबहादुर बस्नेतको कोरोना संक्रमणका कारण गत 7 जुनमा मृत्यु भएको थियो ।