भारतको चेन्नईमा 20 नेपालीहरु कोरोना भाईरसले संक्रमित, एक नेपाली महिलाको मृत्यु

चेन्नई, 28 जुन 2020
भारतको तमीलनाडु राज्यको चेन्नईमा (कोभिड-19) कोरोना भाईरसका कारण एक नेपाली महिलाको ज्यान गएको छ । चेन्नईमा ब्यूटी पार्लर चलाउँदै आएकी काठमाण्डौकी एक 50 वर्षीय महिलाको कोरोना भाईरस संक्रमणका कारण मृत्यु भएको हो । चेन्नईमा अहिले 20 जना नेपालीहरु कोरोना भाईरसबाट संक्रमित रहेका छन । उनिहरुको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य एवं दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष महेन्द्र बस्यालका अनुसार चेन्नईमा अहिले 21 जना कोरोना संक्रमित समाजको सम्पर्कमा आएका छन । त्यसमध्ये ब्युटी पार्लर संचालन गर्दै आएकी 1 महिलाको गत बुधवार मृत्यु भएको छ । 20 जना अझै कोरोनाबाट संक्रमित छन । अहिले चेन्नई महानगरको एगमोर, पोरुल, कोटुरपुरम, केके नगर, प्यारीस चेटपेट र रायपेटा क्षेत्रमा काम गर्ने 20 मजदूरहरु कोरोनाले संक्रमित छन । उनिहरुको विभिन्न सरकारी अस्पतालमा उपचार चलिरहेका बस्यालले नेशनल लाईवलाई जानकारी दिनुभएको छ ।
नेपालमा कोरोनाका कारण 28 जनाको ज्यान गइसकेको अवस्थामा भारतका विभिन्न शहरमा पनि कम्तिमा 10 जना नेपालीको यस भाईरसबाट मृत्यु भइसकेको छ । अहिलेसम्म भारतको महाराष्ट्र, दिल्ली र दक्षिण भारतका कयौं शहर लगायतमा कम्तिमा पनि 10 नेपालीहरु कोरोनाबाट ज्यान गएको जानकारी पाइएको छ ।
नेपालमा अहिलेसम्म 12 हजार 7 सय 72 जना कोरोनाले संक्रमित भएपनि नेपाल बाहिर पनि ठूलो संख्यामा नेपालीहरु यस महामारीले संक्रमित रहेका छन । भारतमा कोभिड 19 को संक्रमण लगातार बढ्दै गर्दा भारतमा रोजगारीका लागि बसेका नेपालीहरु पनि संक्रमित भइरहेका छन । यद्धपी लकडाउन खुकुलो भएपछि लाखौं नेपालीहरु नेपाल फर्किसकेको भएपनि जिविकोपार्जनमा समस्या नभएका धेरै नेपालीहरु अझै कर्मथलोमै छन ।