गोर्खा रेजिमेन्टमा सेवारत नेपालीको दुर्घटनामा परि निधन, भर्खरै भएको थियो पदोन्नती

नयाँ दिल्ली, 3 अगस्त 2020
भारतीय गोर्खा सेनामा सेवारत नेपालीको विदामा नेपाल जाने क्रममा दुर्घटनामा परि मृत्यु भएको छ । नेपालको दैलेख जिल्ला दुल्लु नगरपालिका वाड नम्बर १३, छडुङका रविन्द्र बहादुर शाहीको आज विहान 4 बजे उपचारका क्रममा अस्पतालमा निधन भएको हो । गोर्खा रेजिमेन्टमा सेवारत रविन्द्र बहादुर शाही भारतको झारखण्डको राजधानी राँचीमा पोस्टिङ थिए । दिल्लीका समाजसेवी विष्णु शाही ठकुरीले दिएको जानकारी अनुसार रविन्द्र बहादुर शाहीको भर्खरै पद बढेपछि विदामा नेपाल गइरहेका थिए। उनि सवार बसको गत 1 अगस्तको राति रुपैडिहा सीमा नजिक दुर्घटना भएको हो । घटनामा उनलाई गम्भीर चोट लागेको थियो । त्यसपछि उनलाई बनारसको सरकारी अस्पतालमा उपचार भइरहेको थियो । आज बिहान 4 बजे उनको निधन भएको हो ।
जानकारीका अनुसार उनि सवार बसमा अन्य 4 जना सैनिक जवानहरु पनि रहेका थिए । तर उनिहरुलाई सामान्य चोट लागेको छ ।
रविन्द्र बहादुर शाहीको गत वर्षमात्रै विवाह भएको थियो । उनको परिवारले पुरै परिवारमा शोकको लहर छाएको छ । उनको पार्थिव शरीरलाई सेनाकै एम्बुलेन्सले नेपाल पुऱ्याउने भएको छ ।