Trending News

रुसले बनायो कोरोनाको खोप, WHO ले मञ्जुरी दिए विश्वका लागि वरदान हुने

41 Shares

रुस, 11 अगस्त 2020

कोरोना महामारीविरुद्धको कुनै औषधी नपाएर पुरै विश्व आक्रान्त भइरहेका बेला रुसबाट भने कोरोनाको खोप बनेको समाचार आएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कोरोना भाइरसविरुद्धको खोप विकास गरेर प्रयोगमा ल्याएको दाबी गर्नु भएको छ । पुटिनले कोरोनाविरुद्धको खोप आफ्ना दुई छोरीलाई लगाएको र उनीहरुलाई कुनै ‘साइड इफेक्ट’ नदेखिएको बताएको समाचारमा जनाइएको छ। पुटिनले मङ्गलबार खोपको विकास गरी दर्ता भएको जानकारी दिनुभएको हो । कोरोनाविरुद्धको खोप दर्ता गर्ने रुस पहिलो राष्ट्र बनेको छ । रुसका अधिकारीहरुले यो खोप डाक्टर, स्वास्थ्यकर्मीसहित मेडिकल कर्मचारी, शिक्षक र अरु उच्च जोखिममा रहेका वर्गमा दिइने जनाएका छन् ।

 मस्कोको गामेल्या इन्स्टिच्युटले बनाएको खोपलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मञ्जुरी दिए भने सारा विश्वका वरदान सावित हुनेछ । रुसका राष्ट्रपति पुटिनले रुसमा चाँडै यो खोपको उत्पादन सुरु गर्ने र ठूलो सङ्ख्यामा खोपको डोज बनाउने बताउनुभएको छ । अहिले विश्वभर नै कोरोना भाइरसविरुद्धको खोप बनाउनको लागि कयौं ठाउँमा परीक्षणहरु भइरहेका छन तर अहिले सम्म खासै सफलता पाउन सकिएको छैन । विश्व स्वास्थ्य सङ्गठनले अमेरिका, बेलायत, इजरायल, चीन, रुस, भारत जस्ता देशमा झण्डै सयभन्दा धेरै खोप बनाउनको लागि काम भइरहेको बताएको छ । विश्वमा कोराना संक्रमित देशको सूचीमा चौथो स्थानमा रहेको रुसमा अहिलेसम्म आठ लाख ९७ हजार पाँच सयभन्दा धेरैमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । कोरोनाका कारण त्यहाँ १५ हजार एक सयभन्दा धेरैको मृत्यु भएको छ ।