राष्ट्रकवि घिमिरेलाई उपप्रधानमन्त्री पोखरेलद्वारा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण

काठमाडौं 19 अगस्त 2020
राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। घिमिरेको निवासमै पुगेर उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाएर राष्ट्रकवि घिमिरेलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको हो। उपप्रधानमन्त्री पोखरेलले राष्ट्रकवि भौतिक रुपमा हामी माझ नभएपनि उहाँले राष्ट्रका लागि गरेका योगदानहरु हामीसँगै रहेको बताउनुभयो । राष्ट्र, राष्ट्रियता, नेपाल, नेपाली र राष्ट्रिय स्वाभिमानको एउटा चेतना जगाउने अगुवा व्यक्तित्वको रुपमा राष्ट्रकविलाई आफुले बुझेको उहाँले बताउनुभयो । उहाँले राष्ट्रका लागि गरेको योगदानलाई सरकारले संस्थागत ढंगले चिरस्थायी बनाउन महत्वपूर्ण निर्णय गर्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रकविको निधनले नेपाली साहित्यमा ठूलो क्षति पुगेको बताउनुभयो । राष्ट्रकविको निधनले नेपाली साहित्यमा मात्रै नभएर नेपाललाई नै अपुरणिय क्षति पुगेको उहाँले बताउनुभयो । नेपाली कांग्रेसका सभापति समेत रहनुभएका देउवाले राष्ट्रकविले देखाएको बाटोमा सबैले लाग्नुपर्ने बताउनुभयो । पूर्वप्रधान सेनापति राजेन्द्र क्षेत्रीले राष्ट्रकविका गीत र रचनाले सबैलाई राष्ट्रियता र राष्ट्रप्रति जागरुक गराएको बताउनुभयो । राष्ट्र र राष्ट्रिय स्वाधिनताको भावनाले सबैलाई उच्च सम्मान दिने रचनाहरु राष्ट्रकविले जन्माएको उहाँले बताउनुभयो । सेनाले कविवर घिमिरेलाई मानार्थ सहायक रथीको उपाधि दिएको थियो । घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। । घिमिरेको अन्तिम श्रद्धाञ्जलीमा नेपाली सेना र सशस्त्र प्रहरीको एक-एक टुकुडीले सलामी अर्पण गर्ने छ ।