Trending News

चितवनका होटल तथा रेष्टुरेन्टहरु खुल्ने तयारीमा

5 Shares

चितवन, 22 सेप्टेम्बर 2020

गत चैत ११ गते देखि सुरु भएको लकडाउनले बन्द रहेका चितवन सौराहाका होटल तथा रेष्टुरेन्टहरु हिजो आज खोल्ने तयारीमा छन। व्यवसायीहरुले कभिड-१९ संक्रमणको जोखिम न्यूनीकरण गरी होटल सञ्चालन गर्नका लागि आन्तरिक तयारी भइरहेको बताएका छन् । नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले गत चैत ११ गतेयता लकडाउन गर्दै आएको थियो । पछिल्लो समय लकडाउन हटाइएपछि आन्तरिक उडान र बाह्य उडान समेत सूचारु भएका छन। जसका कारण फेरीपनि पर्यटन क्षेत्र सूचारु हुने तरखरमा छ । चितवनको सौराहा पनि देशको प्रमुख पर्यटकीय गन्तव्य मध्ये एक हो । त्यसैले यहाँका होटल व्यवसायीहरुले कोभिड-१९ संक्रमण रोकथामका लागि मापदण्ड पुरा गरी होटल सञ्चालन गर्ने तयारी गरिरहेका छन् । लामो समय बन्द भएकाले सरसफाई र मर्मत गरेर होटल तथा रेष्टुरेन्ट सञ्चालनमा ल्याउन ५ देखी २० लाख रुपैयाँ थप लगानी गर्नुपर्ने अवस्था रहेको क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष दिपक भट्टराईले बताउनुभयो । तत्काल पर्यटकहरु आउने सम्भावना नभएपनि सबै मापदण्ड पुरा गरेर होटल सुचारु गर्न लागिएको उहाँले बताउनुभयो । चितवनको पर्यटन व्यवसाय पुरानै अवस्थामा फर्कन अझै दुईबर्ष लाग्ने समेत भट्टराईको भनाई छ ।

बाह्य पर्यटक तत्काल आउने सम्भावना नरहेको र चाडपर्व नजिकदै गरेकोले केही आन्तरीक पर्यटक आउने आशमा सौराहाका व्यवसायी रहेका छन् । व्यवसायीहरुलाई सरकारले उपेक्षा गरेको उनीहरुको बुझाई छ । सरकारले पुनरकर्जा दिने बताए पनि त्यसको कार्यान्वयन नहुँदा होटल सञ्चालन गर्न चालु पूँजीको अभाव भएको पनि व्यवासयीहरुले बताए । होटल व्यवसायी ध्रुव गिरीले लामो समय बन्द भएका होटलको सरसफाई गर्ने, मर्मत गर्ने काममा आफुहरु व्यस्त रहेको बताउनुभयो । उहाँले होटल सूचारु गर्नका लागि कर्मचारीहरुलाई १५/१५ दिन गरी  मासिक दुई सिफ्टमा काम लगाउने योजना बनाएको समेत बताउनुभयो।

चितवनको सौराहामा करिब २ सयको संख्यामा होटल तथा रेष्टुरेन्टहरु रहेका छन् । त्यस्तै ५ हजार ५ सय जनाले प्रत्यक्ष रोजगारी पाउदै आएका छन् । सौराहा क्षेत्रका होटल तथा रेष्टुरेन्टहरु पूर्ण रुपमा पर्यटनमा आधारित छन् । कोभिडका कारण तत्काल बाह्य पर्यटक आउन नसक्ने भएपनि आन्तरिक पर्यटक आउने झिनो आशाले होटल रेष्टुरेन्ट सूचारु गर्न लागिएको व्यसायीहरु बताउँछन् ।