Trending News

बजार खुलाइएपनि प्रयाप्त मालबस्तु नभएको व्यवसायीहरुको गुनासो

11 Shares

काठमाण्डौं,26 सेप्टेम्बर 2020

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन र निषेधाज्ञा जारी हुँदा व्यापार व्यवसाय पनि ठप्प भयो। पछिल्लो एक महिना यता बजार खुलाइएपनि प्रयाप्त मालबस्तु नहुँदा व्यापार शुन्य रहेको व्यवसायीहरुको गुनासो छ। खासगरी चीन तर्फको केरुङ नाकाबाट मालबस्तु ल्याउन नसक्दा सामग्रीको अभाव भएको व्यवसायीहरु बताउँछन। चाडपर्व नजिकिदै छ। व्यापारको मूख्य सिजन पनि चाडपर्व नै हो। दशैं तिहार जस्ता ठूला चाडपर्वको समयमा किनमेल गर्ने प्रचलन नेपाली समाजमा छ। त्यसैले यो समयमा लत्ताकपडा, खाद्य वस्तु, घरायसी सामग्री लगायतका बस्तुहरुको आयात पनि धेरै नै गरिएको हुन्छ। तर यस वर्ष कोभिड १९ संक्रमण जोखिमका कारण चीन तर्फको केरुङ नाकाबाट कुनैपनि समाग्री भित्रिन सकेको छैन। जसको असर काठमाडौं लगायत देशका ठूला बजारमा पर्ने देखिएको छ। बजारका व्यापारीहरु पनि मालबस्तु नभएका कारण व्यापार बढाउन नसकिएको बताउँछन। खासगरी लत्ताकपडा चीन तर्फबाट सबैभन्दा धेरै आयात हुन्छ। तर यस वर्ष आयात गरिएको समान पनि केरुङ नाकामै रोकिदा पुरानै स्टक सामग्री मात्रै विक्री गर्नुपरेको व्यवसायीहरुले बताएका छन् । बजारमा प्रयाप्त सामग्री नहुादा बजार भाउपनि महँगो हुने भएकाले व्यापार कम हुने चिन्तामा पनि व्यवसायीहरु छन। काठमाडौंको न्यूरोड, असन, भोटेबहाल लगायतका क्षेत्रमा पुग्दा व्यवसायीहरुले अहिलेको सिजन लत्ताकपडा विक्रीका लागि मूख्य सिजन भएपनि आवश्यक सामग्री नहुँदा व्यापार कम भएको बताएका छन। चीन तर्फको नाका बन्द हुँदा आयात रोकिएकाले यस वर्ष जाडो सिजनका कपडाको अभाव हुनसक्ने पनि उनीहरुले बताए। व्यापार नै कम हुने भएपछि कसरी लगानीलाई सुरक्षित गर्ने र कसरी पसलको भाडा तिर्ने भन्ने चिन्तामा पनि व्यवसायीहरु छन्।

नेपालमा कोभिड-१९ संक्रमणको जोखिम बढदै जाँदा व्यवसायीहरुले चीनबाट केरुङ नाका हुँदै सामान आयात गर्न सकेका छैनन। केरुङ नाकामा आएका १ हजार भन्दा बढी कन्टेनर पनि रोकिएका छन् । त्यसको असर नेपाली बजारमा देखिएको हो। व्यवसायीहरुले सामान छुटाउन सरकारले नै पहल गर्नुपर्ने बताएकाछन। कन्टेनरहरु छुटाउन नसके बजारमा सामानको अभाव हुने र महँगी बढ्न गई व्यापार कम हुने चिन्तामा व्यवसायीहरु छन।