Trending News

महानगरका ३२ वटै वडा कार्यालयलाई सुविधासम्पन्न बनाउदैछौं : मेयर विद्यासुन्दर शाक्य

9 Shares

काठमाण्डौ,23 अक्टूबर 2020

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले नागरिकलाई प्रभावकारी सेवा दिन वडा कार्यालयहरुलाई सुविधासम्पन्न बनाउन लागिएको बताउनुभएको छ। शुक्रबार काठमाडौं महानगरपालिका वडा नं. ९ को नयाँ भवन उद्घाटन गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले महानगरका ३२ वटै वडा कार्यालयलाई सुविधासम्पन्न बनाउन लागिएको बताउनुभएको हो। जनतासँग प्रत्यक्ष सरोकार राख्ने संस्था भएको र पहिलो गुनासो सुन्ने निकाय समेत वडा कार्यालय भएकाले महत्वका साथ पूर्वाधार निर्माण भइराखेको बताउनुभयो। उहाँले कुनै समस्या भए आफ्नो वडा कार्यालयमा निर्धक्क राख्न समेत नगरबासिहरुलाई आग्रह गर्नुभएको छ। यस्तै कुनैपनि क्षेत्रमा विकासका कामहरु गर्न बाँकी रहेको वा गर्नुपर्ने भएपनि वडा कार्यालय मार्फत जानकारी गराउन समेत आग्रह गर्नुभएको छ। सबै कामका लागि मेयर नै नचाहिने भएकाले वडा अध्यक्ष मार्फत आफ्ना समस्याहरु राख्न आग्रह गर्नुभयो।

महानगरभित्र पूर्वाधार निर्माणका धेरै काम गर्न बाँकी रहेको र ती कामहरुमा नगरबासिको सहयोगको अपेक्षा समेत गर्नुभयो। महानगरबासीलाई सेवा सुविधा दिनका लागि पनि वडा कार्यालयलाई सुविधा सम्पन्न बनाउनुपर्ने उहाँले बताउनुभयो। त्यसैले पहिलो प्राथमिकतामा सबै वडा कार्यालयको भवनको निर्माणलाई राखिएको पनि उहाँले बताउनुभयो।