ब्रिटेनपछि क्यानडा पनि कोरोनाविरुद्धको खोप प्रयोग गर्दै, फाइजर/बायोएनटेकको खोपलाई स्वीकृति

नयाँ दिल्ली, 10 डिसेम्बर 2020
ब्रिटेनपथछि अब क्यानडाले पनि कोरोना भाइरसविरुद्धको फाइजर/बायोएनटेकको खोप सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ। क्यानडाको स्वास्थ्य नियामक निकायले फाइजरको खोपलाई स्वीकृति प्रदान गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन। क्यानडाले सशर्तसहित खोपलाई स्वीकृति प्रदान गरेको जनाइएको छ । खोप उत्पादकले खोपबारे लगातार सूचना दिनु पर्ने क्यानडाले शर्त राखेको छ । क्यानडाले खोपका दुई लाख ४९ हजार डोज यो महिना प्राप्त गर्ने अपेक्षा छ।
बेल्जियमबाट शुक्रबार खोपको पहिलो खेप ३० हजार डोज आएपछि खोप अभियान सुरु हुने अधिकारीहरुले बताएका छन्।योसँगै खोप प्रयोगका लागि स्वीकृती प्रदान गर्ने क्यानडा विश्वको दोस्रो देश बनेको छ। ब्रिटेनमा भने खोप लगाउन अभियान नै सुरु भएको छ।
अब आगामी सातादेखि अमेरिकाले पनि सो खोपलाई स्वीकृति प्रदान गर्ने अनुमान गरिएको छ । ब्रिटेनमा गत मंगलबारदेखि खोप अभियान सुरु भएको छ।