इन्डोनेशियामा शक्तिशाली भूकम्प, 42 जनाको मृत्यु

नयाँ दिल्ली, डेस्क, 15 जनवरी 2021
इन्डोनेशियाको सुलावेसी द्वीपमा भूकम्पका कम्तिमा 42 जनाको मृत्यु भएको छ । शुक्रवार सबेरै एउटा सानो भूकम्पको गएको एक घण्टापछि 6.2 म्याग्निट्यूडको ठूलो भूकम्पका कारण घर र भवनहरु क्षतिग्रस्त हुनुका साथै पहिरो गएपछि 42 जनाको मृत्यु भएको छ ।
उद्धारकर्मीहरूले भग्नावशेषमा पुरिएका जीवित मानिसहरू छन् कि भनेर खोजिरहेका छन्। भूकम्पका कारण सयौँ मानिस घाइते भएका छन् भने हजारौँ विस्थापित भएका छन्। मामुजु नगरस्थित एउटा अस्पतालका केही भाग भत्किएपछि कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। उक्त पाँचतले अस्पतालबाट ६० जनालाई सुरक्षित उद्धार गरिएको थियो। मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूको भनाइ छ।
विद्युत् आपूर्ति अवरुद्ध हुँदा तथा फोनको सङ्केत नहुँदा उद्धारकार्य प्रभावित भएको छ। भूकम्पको केन्द्रबिन्दु माजेने नगरबाट छ किलोमिटर पर १० किलोमिटर तल रहेको बताइएको छ। स्थानीय समयानुसार मध्यरातपछि १:०० बजेतिर सात सेकेन्डसम्म भूकम्पले हल्लाएको थियो। भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छैन। तर हजारौँ मानिसहरू घर छोडेर सुरक्षित स्थानमा गएका छन्। दुईवटा भूकम्प गएकाले अधिकारीहरूले शक्तिशाली परकम्प जान सक्ने र सुनामी आउन सक्ने चेतावनी दिएका छन्।