Trending News

नेपाल र भारतका समस्या संवादबाट हल गर्नुपर्छ: ज्ञवाली

0 Shares

काठमाण्डौं, 16 अप्रैल 2021

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतकोबीचमा देखिएका सबै समस्यालाई छलफल र संवादबाट आपसी समझदारीमा हल गर्नुपर्ने बताउनुभएको छ ।शुक्रबार नेपाल भारत मैत्री संघका नव निर्वाचित केन्द्रीय कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले नेपाल र भारतकोबीचमा देखिएको सीमा समस्या लगायत सबै खाले समस्याको समाधान आपसी समझदारीमा गर्न सकिने बताउनुभएको हो । इतिहासले बाँकी राखिदिएका त्यस्ता समस्या समाधान गर्न र सीमा लागयतका कतिपय सन्धी सम्झौताहरुमा नमिलेका विषयहरुलाई दुवै देशले एकआपसमा विश्वासका साथ छलफल गरेर जान सके समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो दुई देशका बीचमा केही इतिहासले बाँकी राखिदिएका समस्याहरु, इतिहासले नसुल्झाइदिएका र अधुरै छोडेका समस्याहरु छन । सीमा लगायतका कतिपय सन्धी सम्झौताहरुमा नमिलेका विषयहरु छन जसलाई उच्च विश्वासका साथ हामीले छलफल गरेर अगाडि बढाउन सक्छौं । पोलिटिकल्ली एउटा अण्डरस्ट्याण्डिङ्ग भयो भने र दुवै देशले एक आपसमा विश्वासका साथ अगाडि बढेर जान सक्यौं भने मलाई लाग्छ इतिहासले अधुरो छोडेका यी समस्याहरुलाई समाधान गर्न कुनै गाह्रो छैन ।

नेपालले भारतसँग भएका कुनैपनि समस्याहरु समाधान गर्न सकिदैन भन्ने नठानेको पनि स्पष्ट पार्नुभयो । नेपाल र भारत एक आपसमा प्रतिस्पर्धी मुलुक नभई मित्र भएकाले कुनैपनि समस्या समाधान गर्नका लागि समस्या नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो भारतसँग कुनैपनि समस्या छन्, तिनिहरुलाई छलफलद्धारा विश्वासका आधारमा समाधान गर्न नसकिने कुनैपनि विषय छन भन्ने हामी ठान्दैनौं । किन भने नेपाल र भारत प्रतिस्पर्धी होइनन । नेपाल र भारत मित्रहरु हुन । प्रतिस्पर्धीहरुकाबीचमा समस्या समाधान गर्न गाह्रो हुन्छ । मित्रहरुकाबीचमा समस्या छन भने समाधान गर्न कुनैपनि गाह्रो हुँदैन ।

परराष्ट्र मन्त्री ज्ञवालीले कोभिड विरुद्धको लडाईमा नेपाल र भारत एकसाथ अगाडि बढेको पनि बताउनुभयो । नेपालका लागि भारतले कोभिड विरुद्धको खोप उपलब्ध गराएर सहयोग गरेको पनि बताउनुभयो । यस्तै नेपाल र भारतबीच खुला सिमाना रहेको र मानिसहरुको आवगमनका कारण कोभिड महामारी फैलन नदिन दुवै देशले सहकार्य गरी काम गरिराखेको पनि बताउनुभयो ।

 उहाँले भन्नुभयो कोभिड विरुद्धको हाम्रो लडाईमा भारतले विभिन्न ढङ्गले सहयोग पुर्याउँदै आएको छ । अरु विभिन्न खालका लजिस्टिकहरु, मेडिकल सामग्रीहरु, स्वास्थ्य सामग्रीहरुका अलवा हामीले राम्रो सहयोग पायौं भारतबाट । भारतमै उत्पादित कोभिसिल्ड १० लाख डोज भारतले हामीलाई हस्तान्तरण गर्यो र हामीले दक्षिण एशियाकै भारतसँगसँगै आफ्ना नागरिकहरुलाई खोप उपलब्ध गराउन सक्यौं । त्यो अभियान अहिले पनि निरन्तर जारी छ । दुई देशको बीचमा १८ सय किलोमिटर लामो खुला सिमाना छ । खुला सिमानाबाट नागरिकहरुको आवतजावत तिब्र हुने हुनाले दुवै देशले मिलेर मात्रै यो महामारीको विरुद्ध हामी अगाडि बढ्न सक्छौ. । यस सन्दर्भमा दुवै देशको बीचमा निरन्तर संवाद पनि भइराखेको छ र कसरी यो लडाई जसले हामीलाई ठूलो चुनौति खडा गरेको छ । यो चुनौतिको सामना हामी कसरी मिलेर गर्न सक्छौं भन्ने बारेमा हामीले छलफलहरु गरिरहेका छौं । सहकार्यहरु गरिराखेका छौं ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउनुपर्ने बताउनुभयो । भनाई र भाषणमा मात्रै दुई देशबीचको सम्बन्धलाई सिमित नगरी व्यवहारीक रुपमा लागू गर्नुपर्ने बताउनुभयो । जनताको विश्वास टुटन नदिन पनि दुवै देशको बीचमा भएका समस्यालाई छिट्टै हल गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको विकाशको मोडल नेपालका लागि सबैभन्दा राम्रो भएको पनि बताउनुभयो । जसका कारण अहिले देशमा विकास निर्माणका कार्यक्रमहरु अगाडि बढेको दावी पनि गर्नुभयो ।