Trending News

नेपालको आर्थिक वृद्धिदर २.१२ प्रतिशत घट्यो, पछिल्लो दुई दशकमै पहिलो पटक यति गिरावट

0 Shares

काठमाण्डौ, 28 मे 2021

नेपालको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको छ । पछिल्लो दुई दशकमै पहिलो पटक नेपालको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको हो । शुक्रबार सार्वजनिक आर्थिक सर्वेक्षण २०७८मा २०७१/७२ को महाभुकम्पबाट श्रृजित आर्थिक क्षति भन्दा पनि यो उच्च भएको जनाईएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण २०७८ सार्वजनिक गर्दै पछिल्लो २ दशकमै पहिलो पटक मुलुकको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको बताउनुभयो । उहाँले स्वास्थ्य संकटको अवस्थामा क्रमश सुधार आउने अपेक्षा सहित नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक बर्षमा ४ दशमल शुन्य १ प्रतिशत रहने अनुमान गरिएको भएपनि चालु आर्थिक बर्षको तेश्रो चौमासिकबाट तिब्र गतिले फैलिरहेको कोभिड १९ को दोश्रो लहरको कारण अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतिपुर्ण बन्दै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो “आर्थिक बर्ष २०७६÷७७ मा कोभिड १९ महामारीबाट नेपालको अर्थतन्त्र प्रभावित हुनेगरी आर्थिक वृद्धि दर पछिल्लो २ दशकमै पहिलो पटक २ दशमलब १२ प्रतिशतले ऋणात्मक रहेको छ । यो आर्थिक बर्ष २०७१÷७२ मा गएको विनाशकारी भुकम्पबाट सिर्जित आर्थिक क्षति भन्दा पनि उच्च हो । स्वास्थ्य संकटको अवस्थामा क्रमश सुधार आउने अपेक्षा सहित नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक बर्षमा ४ दशमल शुन्य १ प्रतिशत रहने अनुमान गरिएकोमा चालु आर्थिक बर्षको तेश्रो चौमासिकबाट तिब्र गतिले फैलिरहेको कोभिड १९ को दोश्रो लहरको कारण अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतिपुर्ण बनेको छ ।”

आर्थिक सर्वेक्षण २०७८मा चालु आर्थिक बर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा ५ दशमलब ८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ११ सय ९१ पुगेको अनुमान गरिएको छ । त्यसैगरी प्रतिव्यक्ति कुल राष्ट्रिय आयमा ५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ११ सय ९६ पुगेको अनुमान गरिएको छ । पछिल्ला बर्षहरुमा बस्तु तथा सेवाको औषत मुल्यस्तर बाञ्छित सिमाभित्र नै रहेको जनाईएको छ । आर्थिक बर्ष ७६/७७ मा तीनै तहका सरकारको एकीकृत खर्च ११ खर्ब ९१ खर्ब ६ करोड रुपैया रहेको छ । एकीकृत खर्चमध्ये चालु खर्च ५६ प्रतिशत र पुँजीगत खर्च ३४ दशमलब १ प्रतिशत र वित्तीय व्यवस्था ९ दशमलब ९ प्रतिशत रहेको छ । त्यसैगरी सरकारको बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको ८ दशमलब १ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चालु आर्थिक बर्षको फागुनसम्म संघीय राजश्वमा भने गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ४ दशमलब ६ प्रतिशतले बढेर ५ खर्ब १ अर्ब ९७ करोड पुगेको छ ।

मन्त्रालयले कोभिड १९ बाट प्रभावित उद्योग व्यवसायका लागि २०७७ फागुनसम्म ४८ हजार ८ सय ३१ ऋणीका लागि १ खर्ब ४२ अर्ब १७ करोड पुनरकर्जा स्वीकृत भएको जनाएको छ । कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि तीनै तहमा गरि ३४ अर्ब ११ करोड विनियोजन भएकोमा १० अर्ब ९५ करोड खर्च हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्ला बर्षमा मानव विकास सूचकाङ्कमा सुधार हुदै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सन् २०२० को प्रतिवेदन अनुसार नेपालको मानव विकास सूचकाङ्क अघिल्लो बर्ष भन्दा सुधार भई शुन्य दशमलब ६०२ पुगेको छ । पुर्ननिर्माणको क्षेत्रमा यसबर्ष ऐतिहासिक सफलता हासिल भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, कोभिड महामारीमा परेका व्यवसायीले बैक ऋणको व्याजमा १० अर्ब २१ करोड ६६ लाख छुट पाएका छन् ।

मन्त्रालयले पुँजीबजार प्रति लगानीकर्ताको आकर्षण बढेको, विमा व्यवसायको दायरा विस्तार भएको निर्यातमा वृद्धि भएको र शोधानान्तर तथा राजश्व संकलन लगायत अर्थतन्त्रका समष्ठीगत सूचकहरु सकारात्मक रहेको जनाएको छ । मन्त्रालयले कोभिड महामारीबाट उत्पन्न आर्थिक संकटको बाबजुद पनि नेपालको मुद्रास्फीति बाञ्छित सीमात्रित्र रहेको, शोधान्तर स्थिति तथा विदेशी विनिमय सञ्चिति सुविधाजन रहेको, वित्तीय क्षेत्र सवल रहेको र पुनर्निमाणमा भएको प्रगति र पुर्वाधार विकासको क्षेत्रमा भएको विस्तारको कारण आगामी दिनमा आर्थिक स्थिति सवल हुदै अर्थतन्त्र भि आकारमा वृद्धि हुने अनुमान गरिएकोमा कोभिड दोश्रो लहरले गतिशिल बन्दै गएको अर्थतन्त्रमा पुन चुनौति र जोखिम बढाएको जनाएको छ ।