अर्जुन दासको हत्या आरोपमा ४ जना पक्राउ

काठमाडौं, 15 अप्रैल 2022
कैलालीमा अर्जुन दासको विभत्स हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै कैलालीको जानकी गाउँपालिका–9 अमरावतीस्थित सामुदायिक वनभित्र मृत भेटिएका 25 वर्षीय अर्जुन दासको हत्या आरोपमा फरार रहेका 4 जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जानकी गाउँपालिका 9 कै 19 वर्षीय युवाहरु सुमित साउद, मनोज भण्डारी, दिलीप दास र बमबहादुर बोहोरा रहेका छन् । उनीहरुको समूहले ’दासलाई मोबाइल चोरी गरेको आरोपमा लागूऔषध सेवन गरेको अवस्थामा हत्या गरेको अनुसन्धानबाट खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाले जानकारी दिनुभयो । रुपन्देही सिमानाकाबाट गोप्य सूचनाका आधारमा महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले उनीहरुलाई पक्राउ गरिएको उहाले बताउनुभयो । उनीहरुलाई थप अनुसन्धानका लागि कैलाली जिल्ला प्रहरी कार्यालय पठाइएको छ । गत वर्ष पुस २ गते घरबाट निस्केका जानकी गाउँपालिका–9 अमरावतीका अर्जुन रातिसम्म घर फर्केका थिएनन् । वनमा घाँस काट्न गएका महिलाले रुखमा बाँधेर टाउको काटिएको अवस्थामा पुस 3 गते शनिबार अमरावती सामुदायिक वनमा उनको शव फेला पारेको थिए ।