नेकपा एसको हैसियतलाई कमजोर नठान्न नेपालको आग्रह

काठमाडौं, 24 मार्च 2023
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एसको हैसियतलाई कमजोर नठान्न आग्रह गरेका छन् । काठमाडौँमा आज शुक्रवार भएको पार्टीनिकट भूपू सैनिकहरुको कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले यस्तो बताए। अध्यक्ष नेपालले आफूहरूको भूमिकालाई कम नआँक्न आग्रह गरेका छन्।
नेपालले भने,‘नेपालको राजनीतिमा जहिले पनि कोर्स करेक्सन गर्न हामीले भूमिका खेल्यौं । हाम्रो हैसियतलाई कसैले कम आँक्ने काम नगरुन् । हाम्रो शक्ति १० वटा भएपनि हामी निर्णायक हुन सक्छौं । प्रधानमन्त्री ज्यू ख्याल रहोस् तपाईसँग १० वटा पार्टी छन् । म २२ वटा पार्टी मिलाएर झण्डै २ वर्ष मुलुक चलाएँ। हामीले चाहेको भए कोर्स चेन्ज गरेर राष्ट्रपति हुन सक्थ्यौं । त्यस्तो गरेको भए धोकेबाज त हुन्थ्यौं होला । इज्जत र प्रतिष्ठाभन्दा ठूलो कुरा केहि होइन । ’
नेपालले नेपालको राजनीतिले एउटा दिशा समातेको बताए । नेपालले भने,‘अहिले पनि राजा आउ देश बचाउ भन्नेहरू छन्,राजतन्त्र पुर्नस्थापनाको कुरा आइरहेको छ । के नेपालमा कुनै राजा गतिला छन् ? भ्रष्टाचारबाट मुक्त छन्, जोगी सन्यासी भएर आएका छन् ? दारी पालेको देखेकोलाई जोगी नभन्नुहोला भोगी हुन् । त्यागी हुनुहुन्छ भने नेपालको राजनीतिक विकृति हल गर्न सँगै जाऔं । सुशासन कायम गर्न लागौं । ’
देशको राजनीतिक कोर्स जहिले पनि परिवर्तन हुने गरेको उनले बताए ।
नेपालले पार्टी भित्रको आन्तरिक कमजोरीले चौथो स्थानमा खुम्चिनुपरेको समेत बताए ।