प्रधानमन्त्री प्रचण्डलाई आफ्नो पद गुम्ला कि भन्ने डर रहेको महामन्त्री थापाको टिप्पणी

काठमाडौं, 24 मार्च 2023
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो पद गुम्ला कि भन्ने डर रहेको टिप्पणी गरेका छन् । मान्छेलाई बढी पाउने इच्छा हुने भन्दै उनले प्रधानमन्त्री दाहालमा पनि पद गुम्ला कि भन्ने डर रहेको बताए। शुक्रबार साई शिक्षा निकेतन माध्यामिक विद्यालयले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पूर्वप्रधानमन्त्रीहरुलाई फेरी प्रधानमन्त्री हुन पाईदैन कि भन्ने चिन्ता उत्तिकै रहेको उल्लेख गरे ।
उनले भने, ‘अहिले म यसो नेताहरु हेर्छु–पटकपटक प्रधानमन्त्री भईसकेको नेतालाई अर्को पटक प्रधानमन्त्री होला कि नहोला भन्ने डर छ । पटकपटक चुनाव जितेकोलाई अर्को पटक चुनाव नजित्ला कि भन्ने डर छ । अहिले भईरहेको प्रधानमन्त्रीलाई भोली बिहान अर्को मिलेर मलाई हटाई देलान कि भन्ने डर छ ।’ ।
उनले बालबालिकाहरुलाई भने डर दिनेगरी शैक्षिक वातावरण बनाउन नहुने बताए । बालबालिकाहरुलाई अभिभावक र शिक्षक मिलेर मेहनत गर्न सिकाउनुपर्ने तर एक पटक असफल हुँदैमा खत्तम भयो भन्ने गरी परीक्षाको नाममा डर बोकाउने काम गर्न नहुने उनको भनाई थियो ।
महामन्त्री थापाले बालबालिकाहरूलाई एकअर्कासँग तुलना गर्न नमिल्ने भन्दै उनीहरूलाई पहिलो हुने र दोस्रो हुने भनेर परीक्षाको नाममा तनाव दिन नहुने बताए ।